पथरीशनिश्चरे  : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिकाका ३ वटा वडामा लघु उद्यमी बन्न चाहने आर्थिक विपन्नहरुको छनौट गरिएको छ ।  

नगरपालिकाको उद्यम विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागितात्मक ग्रामिण लेखाजोखा कार्यक्रममार्फत सोमबार २ नम्बर वडाबाट ३० जना उद्यमीहरुको छनौट गरिएको छ । उनीहरुबाट कुन कुन क्षेत्रमा उद्यम सञ्चालन गर्ने भन्ने सम्भाव्यतापछि त्यसको निक्र्याेल हुनेछ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख दिलीपकुमार राईले लघु उद्यम विकासका लागि सरकारले कार्यक्रम प्रदान गरेकाले आर्थिक विपन्न समुदायलाई उद्यमी बन्न उत्प्रेरणा दिदै बजारिकरणका लागि समेत नगरपालिकाले सघाउने बताए ।

नगरको लघु उद्यम शाखा प्रमुख हेमचन्द्र दहालले आर्थिक रुपले विपन्न समुदाय आत्मनिर्भर बन्नका लागि यस प्रकारको कार्यक्रम आएको जनाए । कार्यक्रममा चौतारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मनबहादुर पाठक, समाजसेवी पार्थबहादुर बुढाथोकीले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यपालिका सदस्य एवम् २ नम्वर वडासदस्य अरुणा राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले कार्यक्रमको सहजिकरण गरेका थिए । परिवारको वार्षिक आम्दामी ३८ हजार १ सय २९ सम्म हुनेलाई हैसियत स्तरीकरण विधिबाट छनौट गरिएको छ । जसमा सहभागिले सामाजिक नक्सा र स्रोत नक्सा तयार गर्दै कार्यक्रमको प्रभावकारिताको पक्षमा आफ्ना योजना बनाएका छन् । यस अघि वडा नम्बर १ र ३ मा छनौट कार्यक्रम भइसकेको छ । मन्त्रालयबाट प्राप्त २५ लाख रुपैयाँ अन्तर्गतको कार्यक्रमका लागि वडा नम्वर १, २ र ३ लाई छनौट गरिएको छ ।

लघु उद्यम विकास कार्यक्रम सञ्चालन स्वीकृत निर्देशिका २०७७ बमोजिम कार्यक्रम सञ्चालन गर्न नगरले नियुक्त गरेका उद्यम विकास सहजकर्तामार्फत वडाका वस्तीमा गई सहभागितामुलक ग्रामिण लेखाजोखा विधिबाट आर्थिक विपन्न वर्गको पहिचान गरी ७० प्रतिशत महिला समेत ९० परिवारका लागि यो कार्यक्रम तय भएको छ । यसका लागि अघिल्लो वर्ष वडा नम्वर ४, ५ र ७ मा सञ्चालन भएको कार्यक्रममा सहभागि ४१ परिवारलाई स्तरोन्नतीको योजना समेत रहेको छ ।