धरान। बजार अनुगमनको अधिकार स्थानीय तहलाई प्रत्यायोजन भए पनि प्रभावकारी बजार अनुगमन हुन नसक्दा अधिकारप्राप्त जनप्रतिनिधि नै चिन्तित बनेका छन् । 

धरान उपमहानगरपालिकाको बजार अनुगमन शाखाले आयोजना गरेको अन्तरक्रियामा सहभागी विभिन्न स्थानीय तहका अधिकारप्राप्त जनप्रतिनिधिले नै चिन्ता व्यक्त गरे । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले भनिन्, ‘पर्व केन्द्रित अनुगमन भइरहेको छ, महिनामा कतिपटक गर्ने भन्ने यकिन गर्न सकिएन ।’ स्थानीय तह गठनपश्चात् अनुगमनको अधिकार उपप्रमुखलाई तोकेको छ । उपप्रमुख नै बजार अनुगमन समितिको संयोजक हुने व्यवस्था छ । 

उनले थपिन्, ‘अनुगमन गर्दै जाँदा धेरै व्यापारीले मूल्यसूची नै राखेको पाइँदैन, राख्ने कुरामा पनि सिरियस भएको पाइँदैन ।’ अन्तरक्रियामा बजार अनुगमनलाई सार्थक प्रभावकारी र अर्थपूर्ण हुन नसक्नुको कारण र समस्याको खोज गर्ने प्रयास गरिएको थियो । कार्यक्रममा प्रदेश १ का विभिन्न स्थानीय तहका उपप्रमुखहरू सहभागी थिए । धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले भनिन्, ‘कहिलेकाहीँ विभाग, मन्त्रालयबाट छड्के अनुगमन हुन्छ, हामीबीच समन्वय हुँदैन । सहकार्य र सार्थक अनुगमन होस् । व्यवसायीलाई त्रसित हुने वातावरणमात्रै भइरहेको छ ।’ 

उनले नेपाली नागरिकको खाद्य अधिकार, स्वास्थ्यको अधिकारसँग जोडिएका विषय भएकाले जागरण र जानकारी गराउने खालको पनि अनुगमन हुनुपर्ने बताइन् । उपभोक्ताको अधिकारका विषयमा वकालत गर्दै आएका कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले भने, ‘उपभोक्ता पनि सचेत हुनुपर्छ, खाद्यको अवस्थाबारेमा जानकारी राख्नुपर्छ ।’ उनले बजार अनुगमनसम्बन्धी नेपालको संविधान २०७२ को अनुसूची ८ (१०) मा स्थानीय बजार व्यवस्थापनको एकल अधिकार स्थानीय तहलाई भन्ने रहेको बताए । 

‘स्थानीय तहले मात्रै बजारलाई व्यवस्थापन गर्न सक्छ, अझ सम्बन्धित वडाका वडाध्यक्षहरूलाई अनुगमनको अधिकार दिने हो भने बढी प्रभावकारी होला भनेर मैले त वकालत गर्दै आएको छु’ –उनले भने । धरान उपमहानगरपालिकाले कोरोना महामारीका बेलामा सबैभन्दा बढी बजार अनुगमन गरेर वाहवाही कमाएको थियो । त्यो बेला तरकारीको अनुगमनका कारण धरानमा सस्तो मूल्यमा सब्जी खाने अवसर प्राप्त गरेका थिए ।

‘अनुगमनलाई प्रभावकारी बनाउने विषयमा विमर्श गर्नका लागि यो कार्यक्रम गरिएको हो’ –धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले भने । उनका अनुसार प्रदेश १ का मुख्य बजारहरूमा पर्ने उपमहानगर र नगरपालिकाका उपप्रमुखहरूको अनुभव शेयरसँगै बजार अनुगमनलाई कसरी व्यवस्थापन गरिरहेको अवस्था छ भन्नेबारे पनि जानकारी भयो । 

छलफल कार्यक्रममा सुनसरीको इटहरी, इनरुवा, मोरङको उर्लाबारी, पथरी, झापाको दमक, मेचीनगर नगरपालिकाका उपप्रमुखहरू सहभागी बनेका थिए । त्यस्तै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख सन्तोष पोखरेललगायतले पनि आफ्ना भनाइ राखेका थिए ।