इनरुवा। सांसद् विकास कोषअन्तर्गत निर्वाचन क्षेत्रका लागि प्राप्त गर्ने चार करोड रकम विजयकुमार गच्छदारको क्षेत्रमा रोकिएको छ । 

सांसद् विकास कोषलाई स्थानीय पूर्वाधार विकास कार्यक्रम पनि भनिन्छ । स्थानीय पूर्वाधारका लागि प्राप्त हुने चार करोड रुपैयाँ रकम गच्छदारको क्षेत्र नम्बर ३ मा रोकिएको हो । सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद् गच्छदारको पद निलम्बनमा परेकाले पूर्वाधार विकास कार्यक्रमको रकम नआएको हो ।

अन्य क्षेत्रमा भने रकम आएको जनाइएको छ । जिल्ला समन्वय समितिको कार्यालय इनरुवा सुनसरीका अनुसार सुनसरीका ४ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ३ को रकम हालसम्म प्राप्त भएको छैन । गच्छदारको पद निलम्बनमा परेको र उनको स्थानमा कानूनले तोकेबमोजिम ज्येष्ठ निर्वाचित सदस्यले समयमै आवेदन नदिँदा रकम रोकिएको हो । 

रकम प्राप्त भएसँगै निर्वाचन क्षेत्रअन्तर्गत रही छनौट गरिएका योजना सञ्चालनको बाटो खुलेको जिसस सुनसरीका प्रमुख गोपाल राजभण्डारीले बताए । राजभण्डारीका अनुसार प्राप्त रकम सम्बन्धित निर्वाचन क्षेत्रका निर्वाचित सांसद्ले तोकिएका आयोजनाको लागि खर्च गर्न पाउनेछन् ।  जिसस सुनसरीका अनुसार सम्बन्धित क्षेत्रका सांसद्ले आ–आफ्नो निर्वाचन क्षेत्रको हकमा छनौट भएका आयोजना सञ्चालनमा ल्याउन सक्ने बताए ।

जिसस प्रमुख राजभण्डारीका स्वकीय सचिव अच्यूत भण्डारीका अनुसार उल्लेखित शीर्षकमा रकम प्राप्त भएकाले निर्वाचन क्षेत्र नम्बर १, २ र ४ मा छनौट गरिएका आयोजना सञ्चालनको बाटो खुलेको बताए । उनले निर्वाचन क्षेत्र नम्बर १ का सांसद् जयकुमार राई, २ का सीताराम मेहता र निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा बसेको बैठकले छनौट गरी पारित गरेका योजना सञ्चालनको बाटो खुलेको हो ।

समन्वय समितिले दिएको जानकारी अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा साना–ठूला गरी ३० आयोजना सञ्चालन हुने भएका छन् । जसमा रत्नमार्ग–पट्नाली सडक निर्माण २९ लाख, खहरे तटबन्ध, टोपथुम्का मार्ग सडक कालोपत्रे, भूमिपथ मार्ग सडक निर्माण, बलबहादुर राई–भीमबहादुर तामाङ स्मृति भवन निर्माण, बहुउद्देश्यीय सभा हल निर्माण २० लाखको दरले रहेको छ । अन्य आयोजनाहरू १० देखि १५ लाखभित्रका रहेका छन् । 

ती आयोजनाहरूमा ब्लड बैङ्क धरान, सतीघाट ट्रयाक, ज्येष्ठ नागरिक पार्क, नाटक घर, हिमाली सिङ्सावा, राइजिङ क्लब, बौद्ध चारधाम, हीरालाल मार्ग, बाँझगरा सामुदायिक वन, रोधुङपथ सडक, श्रद्धाञ्जली मार्ग, हिरासत भवन, देवीथान ड्रेन, तल्लो किसान पथ, सिमल चौरी, किरात चोक हुँदै स्वागत चोकसम्म ड्रेन निर्माण, उदय मार्ग, जिम हल, माथिल्लो जमटोकी ड्रेन, तोरीबारी रेल्वेलाइन सिँचाइ आयोजना, भूमिगत सिँचाइ, भट्टराई चोक उत्तर बाटो र इचो स्कुल हुँदै शङ्करबेली सडक निर्माण आयोजना रहेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा सञ्चालित हुने आयोजना ३३ वटा छन् । जसमा ठूला आयोजनाका रूपमा  इनरुवा–२ को कुशवाहा कल्याण समाज भवन निर्माण, कृषिउपज विज वृद्धि बिउ सङ्कलन केन्द्र जिल्ला सङ्घ सुनसरी भवन निर्माणका साथै इनरुवा–१ को जिल्ला अस्पतालमा प्रयोगशाला सेवा विस्तार र इटहरीको बूढीगङ्गा–जमुना मुक्तिघाटमा किरियापुत्री भवन निर्माण बापत २५ लाखको दरले रकम छुट्याइएको छ । 

अन्य शीर्षकका आयोजनामा १० लाखका दरले रकम तोकिएको छ । जस अन्तर्गत इटहरीको लागि राष्ट्रिय मा.वि., शान्तिनगर सामुदायिक वन, हलेश्वर शिव मन्दिर, आदर्श मार्ग, पाथीभरा मन्दिर, सरस्वती मन्दिर भवन निर्माण, बडहरा ग्रामथान, भूवनेश्वर शिवालय मन्दिर, राधाकृष्ण मन्दिर निर्माण रहेको छ । यसैगरी रामधुनीको लागि महिला सामुदायिक भवन, नयाँ वडा २ कार्यालय जाने बाटो, युनिक मार्ग कालोपत्रे, पानडाँडा सेहरा खोला रामधुनी मन्दिर जाने बाटो ग्राभेल, रामजानकी मन्दिर निर्माण रहेको छ ।

यस्तै इनरुवाको हकमा शिव मन्दिर, रामजानकी मन्दिर खानेपानी पाइप विस्तार, साविक मधेशा–६ हुँदै जनहित प्रावि, मुस्लिम टोल ग्राभेल, राधाकृष्ण मन्दिर भवन निर्माण रहेको छ । हरिनगरको हकमा ढलनाला, पशुपति शिक्षा मन्दिर, देवानगञ्जमा हनुमान मन्दिर, पाचौसिमर मावि कम्पाउण्ड, नवभवानी दुर्गा मन्दिर, बज्रङ्गवली, कृष्ण मन्दिर निर्माण र आरसीसी ढलान रहेको छ । 

यस्तै निर्वाचन क्षेत्र नम्बर ४ मा विभिन्न १६ आयोजना सञ्चालन हुने भएका छन् । जसमा ठूला आयोजनालाई बढी प्राथमिकतामा राखिएको देखिएको छ । कोशी गापा–२ मा कोशीटप्पु जोड्ने बाटो कल्भर्ट तथा स्तरोन्नतिका लागि १ करोड छुट्याइएको छ । त्यस्तै कोशीकै वडा १ मा बीपी कोइराला अध्ययन प्रतिष्ठानको अधुरो भवन निर्माणमा ६७ लाख ६० हजार छुट्याइएको छ । हरिनगरको वसन्तपुर बेसक्याम्प जाने बाटो कालोपत्रे र वराहक्षेत्रको सप्तकोशी बहुमुखी क्याम्पसको अधुरो भवन निर्माणमा ५० लाख तोकिएको छ । 

यस्तै भोक्राहाको बभनी खोलामा साझेदारीमा पुल निर्माणको लागि २० लाख रकम छुट्याइएको छ । अन्य आयोजनाको लागि २ लाख ४० हजार, १० लाख र १५ लाख रकम तोकिएको छ । ती आयोजनाहरूमा गापाको साझेदारीमा उराव समुदायको मन्दिर निर्माण, मदरसा स्लाहुलको अधुरो भवन र खाल्डो पुर्ने तथा कल्भर्ट, अकाहाको अधुरो दुर्गा मन्दिर, पुलाहा बाटो स्तरोन्नति, बाङ्गे दुर्गा मन्दिर, विद्यापति स्मारक, पञ्चवटी पार्क, वडा कार्यालय भवन र  पुल निर्माण आयोजना रहेका छन् ।