विराटनगर । नेकपा (ओली समूह)का केन्द्रीय सदस्य युवराज बास्कोटाको घरमा मृत फेला परेका १९ वर्षीय किशोरको परिवारले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेको छ ।

गत पुस १४ गते मोरङको पथरीशनिश्चरे नगरपालिका–१० जिरीखिम्तिका १९ वर्षीय सन्दिप भण्डारीको मृत्यु भएको थियो । उनी बाँस्कोटाको घरमा सुत्न गएको परिवारले जनाएको छ । त्यहि घरमा उनको शव भेटिएको थियो ।

मृतकका आफन्तहरूले पत्रकार सम्मेलन गरेर दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरेका हुन् । 

मृतकको शरिरमा निलडाम र कानमा पनि चोट देखिएको मृतककी आमा राधिका भण्डारीले जानकारी दिइन् । छोराको मृत्यु नभएर हत्या भएकाले प्रहरीले गहन रुपमा अनुसन्धान गरि दोषिलाई कारवाहीको दायरमा ल्याउनुपर्ने माग राखिन् । ‘छोराको मृत्यु भएको यतिका दिन भयो अहिलेसम्म प्रहरीले आरोपीलाई ल्याएर अनुसन्धान गरेको छैन,’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘मेरो छोरा मृत्यु नभएर हत्या भएको हो । मैले किटानी जाहेरी पनि दिएको एक साता भन्दा बढी भयो । अहिलेसम्म प्रहरीले पक्राउ गरि अनुसन्धानको दायारामा ल्याएको छैन ।’

मृतककी आमा राधिकाले छोराको हत्या आरोप लगाउँदै नेता बाँस्कोटा विरुद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएकी थिइन् । तर, प्रहरीले हालसम्म बाँस्कोटालाई पक्राउ गरी अनुसन्धान अघि नबढाएको पीडित परिवारको गुनासो छ । नेता बाँस्कोटालाई संरक्षण गरेकोले प्रहरी प्रशासनले पक्राउ नगरेको पीडित परिवारको भनाई छ । प्रशासनले न्याय दिने तर्फ भन्दा पनि नेता बास्कोटालाई उन्मुक्ति दिन खोजेको आमा राधिकाको आरोप छ । 

दोषीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दासमेत प्रहरीले गम्भिरतापूर्वक नहेरेको मृतकका बावु गोपाल भण्डारीले बताए । पीडित परिवारले सत्यतथ्य बाहिर ल्याउन माग राखेका छन् । 

नेकपा ओली समूहका केन्द्रीय सदस्य भएकै कारण प्रहरीले बास्कोटालाई पक्राउ गरी अनुसन्धान नगरेको उनीहरुको भनाई छ । केही समयदेखि छोरालाई विभिन्न प्रलोभनमा पारी नेता बाँस्कोटाले प्रयोग गर्दै आएको र उनकै घरमा मृत अवस्थामा फेला पर्नुले पनि घटना नियोजित देखिएको भण्डारी परिवारको भनाई छ ।

बाँस्कोटाको योजनामा छोरालाई अन्य स्थानमा हत्या गरी कोठामा सुताएको र आफुहरु पुग्नुअघि नै मुचुल्का तयार पार्नुले पनि घटना षड्यन्त्रपूर्ण भएको अनुसन्धान गरिनुपर्ने उनीहरुको माग छ । सञ्जीव राधिका र गोपालका कान्छा छोरा हुन् । उनीहरुका दुई छोरा मात्र छन् ।

यता इलका प्रहरी कार्यालय पथरीका डिएसपी कृष्ण खड्काले भिसेरा रिपोट आइनसकेकाले अहिले नै एकिन हुन नसकेको बताए । आफु सरुवा भएर आउनुभन्दा अगाडीको घटना भएकाले यस विषयमा अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।