धरान । धरान–२० स्थित गोर्खा स्मृति पार्कमा दुई महिनाअघि निधन भएका सामाजिक अगुवा गजेन्द्र इस्वोको शालिक निर्माण गरिने भएको छ ।

इस्वोको स्मृतिमा अर्थकदको शालिक निर्माणका लागि बेलायतमा अभियान चलाइएको छ । भूतपूर्व ब्रिटिस सैनिक समेत रहेका स्वर्गीय इस्वोको योगदानलाई कदर गर्न धरानको माछामारा डाँडामा अवस्थित गोर्खा स्मृति पार्कमा अर्धकदको प्रतिमा बनाउने तयारी भइरहेको अभियन्ता देव हुक्पा चोङवाङले बताए । यसका लागि यूके र हङकङमा आर्थिक सङ्कलनको कार्य सञ्चालन भइरहेको उनले जनाए । 

१३ करोड भन्दा बढीको लागतमा निर्माण भइरहेको स्मृति पार्कको निर्माण समितिमा रहेर इस्वोले अगुवाइ गरेका थिए । समितिका उपाध्यक्ष सुमनचन्द्र राईले योजनाका लागि करिब पौने नौ लाख रूपैयाँ सङ्कलन भइसकेको बताए । उनले सहयोग सङ्कलन जनवरी महिनाभर रहने जनाए । 

तेह्रथुमको खाम्लालुङमा ०१४ सालमा जन्मेका इस्वोले करिब १७ वर्ष ब्रिटिस सेनामा सेवा गरे । जागिरबाट अवकाश लिएपछि भने अधिकांश समय सामाजिक, राजनीतिक, सामुदायिक कामहरूमा समय खर्चे । उनी गत साल जनता समाजवादी पार्टीबाट धरान उपमहानगरपालिकामा भएको उपनिर्वाचनमा मेयर पदका उम्मेदवार पनि थिए । उनले ब्रिटिस भूपू सैनिक सङ्घ(बिगेसो), किरात याक्थुङ चुम्लुङ, गोरखा स्मृति पार्क समिति, गोर्खा बचत तथा ऋण सहकारी संस्था, गोर्खा कम्प्लेक्स, नागरिक समाज, आदिवासी जनजाति संयुक्त सङ्घर्ष समिति लगायत डेढ दर्जन बढी संघसंस्थाहरूमा रहेर काम गरेका थिए । क्यान्सर रोगसँग सङ्घर्ष गरेर पुनः सामाजिक गतिविधिमा फर्किएका इस्वोको गत नोभेम्बर ३ मा कोरोना सङ्क्रमणका कारण निधन भएको थियो ।