विराटनगर ।  विराटनगर महानगरपालिका – ७ शनिमन्दिरमा रहेको रारा बचत तथा ऋण सहकारी संस्था लि. मा बचत गरेको लाखौं रूपैयाँ लिएर सहकारीका संचालकहरू सम्पर्कबिहीन भएको भन्दी पीडितहरूले प्रहरीमा उजुरी दिएका छन् ।

सहकारी अध्यक्ष शेरबहादुर थापा मगरसहितका संचालकहरू सम्पर्कबिहीन भएपछि बचतकर्ताहरूले मोरङ प्रहरीमा उजुरी दिएका हुन् । 

सहकारीमा वर्षौदेखि बचत गर्दै आएका बचतकर्ताहरूको जम्मा गरिएको लाखौं रुपैयाँ लिएर सहकारीका अध्यक्ष थापासहितका अन्य संचालकहरू सम्पर्कबिहीन भएपछि दुई दर्जन बढी पीडितहरूले मोरङ प्रहरीमा उजुरी दिएका छन् ।

पीडित भएका करिब २५ भन्दा बढी सहकारीका बचतकर्ताहरू मोरङ प्रहरी कार्यालय अगाडी जम्मा भएर उनीहरूले बिहीबार उजुरी दिएका हुन् ।

रारा बचत तथा ऋण सहकारीमा एक जना बचतकर्ताले २० लाख रुपैयाँसम्म जम्मा गरेको बचत लिएर संचालकहरू फरार भएको विराटनगर – ९ का रितेस कुमार साहले बताए ।

साहको विराटनगरको जलजला रोडमा कपडा पसल रहेको छ । पसलमा दैनिक विक्री भएको कपडाको पैसाँ रारा सहकारीमा बचत गर्दै आएका थिए ।

‘सहकारीमा बचत गरेको वर्षौ भएको थियो । ४ माघसम्म ४ लाख ९२ हजार रुपैयाँ बचत पुगेको थियो,’ दैनिक बचत गरेको पासबुक देखाउँदै साहले भने, ‘जम्मा गरेको पैसाँ लिन सहकारी जाँदा ताला झण्डिएको छ ।’

वर्षौदेखि बचत गरेको पैसाँ लिएर सहकारीका संचालक फरार भएपछि समस्यामा परेको उनले बताए । ‘पसलमा रहेको कपडा विक्री भएको पैसाँ दैनिक बचत गर्दै आएका थिए । दुःख गरेर आर्जेको रकम लिएर सहकारीका संचालकहरु फरार भएपछि अहिले समस्यामा परेको छु,’ उनले भने । 

यसरी रारा सहकारीमा जम्मा गरेको बचत गर्ने रितेश मात्र होइन् । विराटनगरका सयौंको संख्यामा रहेका बचतकर्ताले जम्मा गरेको लाखौं रुपैयाँ लिएर संचालक सम्र्पकबिहीन भएपछि सर्वसाधरणको बिल्लीबाट भएको छ । 

विराटनगर ६ का राधा सहनीले रारा सहकरीमा २ लाख रुपैयाँ ‘फिक्स डिपोजिट’ गरेका थिए । उनले एक वर्ष अगाडी उक्त सहकारीमा २ लाख रुपैयाँ जम्मा गरे ।

‘४ माघमा सहकारीमा जम्मा गरेको पैसाँ लिन जाँदा बिहीबार बोलाएका थिए,’ उनले भने, ‘सहकारीमा पुग्दा ताला झुण्डाएर सटर बन्द गरिएको छ ।’ दुःख गरेर कमाएको पैसाँ जोगाएर बचत गरेको रकम लिएर सहकारी भागेपछि उनीहरू जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने र कारवाही गरिनुपर्ने माग राख्दै प्रहरीमा उजुरी दिएका हुन् । 

ब्लाष्टको सम्पर्कमा आएका रारा सहकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर थापा मगरले सहकारीले प्रभाह गरेको ऋण बजारमा उठाउन बाँकी रहेकोले सबैको पैसाँ फिर्ता गर्ने नसकेकाे बताएका छन्  ।

‘कोरानोले गर्दा सहकारीले लगानी गरेको ऋण अहिले समयमा नउठदा समस्या भएको छ,’ उनले ब्लाष्टसँगको फोन सम्पर्कमा भने, ‘बचत गरेका सबै बचतकर्ताहरूको हिसाब गरेर पैसाँ दिनेछु ।’

सोमबारदेखि बचत गरेको सदस्यहरुको पैसाँ हिसाब गरेर फिर्ता दिने उनको भनाई छ । तर, बचतकर्ताहरुले भने सहकारीका संचालकहरुले यसरी असोसन दिएको धेरै भएकोले पैसाँ फिर्ता नपाउने भएपछि प्रहरीमा उजुरी दिन आउनु परेको बताउँदै आएका छन् । सहकारीमा २ हजार सेयर सदस्य रहेको बुझिएको छ ।