भद्रपुर । झापाको हल्दीबारी गाउँपालिकामा बन्न लागेको अस्पतालमा स्थानीय स्तरबाटै विवाद सुरु भएको छ । १५ शैयाको अस्पताल विवादका कारण अदालतसम्म पुगेको छ ।

अदालतले जग्गा विवाद देखिएकोले अस्पतालको काम कारबाही तत्काल रोक्न गाउँपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

स्थानीय दिलकेशर थापाको नामबाट उच्च अदालत विराटनगर इलाममा मुद्दा दायर गरिएको छ ।

निवेदक थापाले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सबै वडा अध्यक्ष, दुई कार्यपालिका महिला सदस्य तथा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृतलाई विपक्ष बनाई मुद्दा दायर गरेका हुन् ।

मुद्दा दायर भएपछि माघ ४ गते उच्च अदालत विराटनगर, इलामका न्यायाधीश शिवनारायण यादवको एकल इजलासले माघ १२ गतेसम्मका लागि गाउँपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा हल्दीबारी गाउँपालिकाले जग्गा छनोट सम्बन्धी निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी उल्लेख गरिएको छ । सरकारले १५ शैयाको अस्पताल साबिकको गोलधाप गाविस हाल वडा नम्बर १ मा बनाउने तोकेर पठाएको थियो ।

गाउँपालिकामा बन्न लागेको स्तरीय अस्पताल पायक पर्ने ठाउँमा बन्न नलागेको भन्दै गाउँ कार्यपालिका बैठकले स्थान परिवर्तन गर्दै वडा नम्बर १ कै तीन किलोमिटर पूर्वमा जमिन लिएर अस्पताल बनाउने निर्णय गरेको थियो ।

 करिब १८ करोडको लागतमा अस्पताल बन्न लागेको थियो । गोलधापको स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै १५ शैयाको अस्पताल बनाउने भनी मन्त्रालयले तोकेर पठाएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र प्रसाद लिङदे्नले जानकारी दिए ।

पछि गाउँ कार्यपालिकाको बैठकले ठाउँ परिवर्तन गर्दै त्यहाँदेखि केही पर सार्ने निर्णय गरेको उनले बताए । कार्यपालिकाको बहुमतले अस्पताल सार्ने निर्णय गरेको बताए  । अहिलेसम्म अस्पताल बनाउने भनी जमिन प्राप्त नभइसकेको र टेन्डर पनि नलागेको उनले जानकारी दिए । 

गत पुस १६ गते स्वास्थ्य चौकी नजिकैको १३ कट्ठा जमिनमै प्रदेश नम्बर १ का तत्कालीन सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले अस्पतालको शिलान्यास गरेकी थिइन् ।