धरान । सडक र सदनमा राजनीतिक दाउपेज चलिरहेको बेला माघको कठ्याङ्ग्रीदो जाडोमा उमेरले ५० कटेका ‘जवान युवा’हरु आफु भन्दा निकै कम उमेरकी दुलहीसंग वैवाहिक सम्बन्ध गाँस्नमा व्यस्त देखिएका छन् । 

बैवाहिक सम्बन्ध गाँस्न लागेका ‘जवान युवा’ मध्ये प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राई, वैवाहिक जीवन सुरु गरेका सुनसरीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका सांसद जयकुमार राई र पुर्व व्रिटिश गोर्खा लाहुरे समेत रहेका धरानका गायक÷कलाकार तेजबहादुर मेन्याङ्बो चर्चामा छन् । तीन जना मध्ये मुख्यमन्त्री राईको पहिलो विवाह हो भने सांसद राई र कलाकार मेन्याङ्बोको दोश्रो विवाह हो । उनीहरुसंग वैवाहिक सम्बन्धमा जोडिन आएका तिनै जना युवतीहरुको भने पहिलो विवाह हो । 

भोजपुरको साविक थिदिङ्खा गाविस हालको आम्चोक गाउपालिका ३ का ५० बर्षीय मुख्यमन्त्री शेरधन राई माघ ११ गते संखुवासभा पुख्र्यौली घर भएपनि काठमाण्डौ बस्ने २३ बर्षिया सुन्दरी मोडल जाङ्मु शेर्पासंग वैवाहिक सम्बन्ध गाँस्दै छन् । फेशन मोडलिङ क्षेत्रलाई करिअर बनाएकी शेर्पा सन २०१८ मा काठमाडौंमा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस मंगोल’ उपाधी विजेता हुन् । साविक नेकपाका केन्द्रीय सदस्य, भोजपुरको क्षेत्र नं २ बाट प्रदेश सभा सांसद भएपछि मुख्यमन्त्री बनेका राई र शेर्पावीच करिव तीन बर्ष प्रेम बसेपछि विवाह हुन लागेको बताइएको छ । शेर्पाको परिवार भने हाल अमेरिका बस्दै आएका छन् । 

नेपाली राजनीतिमा चाडै नै आफ्नो परिचय बनाउन सफल मुख्यमन्त्री राईले सांसद र संचारमन्त्री हुँदैखेरि विवाह गर्नुपर्ने दवाव झैल्दै आएका थिए । पछिल्लो समयमा संसद नै विघटन भएर पार्टी विभाजित भएको बेला प्रधानमन्त्री केपि शर्मा ओली पक्षमा रहेपनि मुख्यमन्त्री पद र कुर्सी रहला कि नरहला भन्ने अवस्थामा राईले लगन गांठोलाई भने कस्ने तयारीमा जुटेका छन् । 

धरान–१५ बाझगराको भानुमार्गमा बस्दै आएका जयकुमार राईको पुख्र्यौली थलो भोजपुरको साविक बालाङ्खा गाविस हाल आम्चोक गाउँपालिका हो । राई धरान झरेपछि विद्यार्थी कालदेखि नै बामपन्थी राजनितिमा होमिएर विभिन्न पदमा रहेका थिए । राईको यो वैवाहिक सम्बन्धमा रामेछापकी २७ बर्षीया अस्मिता तामाङ जोडिन आएकी छिन् । प्रेम पछि विवाह गरेका बताइएको छ । श्रीमति राई हाल सिन्धुपाल्चोकको एक कार्यालयमा कार्यरत रहेको बताइएको छ । 

यसैगरी ‘फक्तालुङ’ र ‘मुकुमलुङ’ लोकआधुनिक गीती एल्वम र मेन्याङ्बो बंशको एउटा डकुमेन्ट्री बनाएका पुर्व व्रिटिश गोर्खा लाहुरे तेज मेन्याङ्बो पनि वैवाहिक सम्बन्धमा गाँसिएका छन् । धरान १५ बाझगरास्थित चुम्लुङ हिम नजिकै बस्दै आएका कलाकार मेन्याङ्बो पहिलो श्रीमतिको निधन भएपछि छोरा छोरी हुर्काउने बढाउने जिम्मेवारीले लामो समय त्यतिकै बसेका थिए । उनले यसैसाता पाँचथरको एक्तिन बस्ने २२ बर्षीया सोनु थोक्लिहाङ लिम्बुसंग लगन गांठो कसेका छन् ।

श्रीमति सोनु पछिल्लो समयमा म्यूजिक भिडियो र मोडलिङमा सक्रिय हुदै आएकी छिन् । म्यूजिक भिडियो बनाउने शिलशीलामा चिनजान भेटघाट भएको र प्रेम पलाएपछि विवाह भएको नवदम्पतीले बताए । घरजम चलचित्रको समेत सहनिर्माता रहेका मेन्याङ्बोले केही बर्ष नेपालमै बसेर फिल्म बनाउने, गीत छायाङ्कन गर्ने बताए ।