धरान । सोलुखुम्बुमा हिजो राती भएको टिपर दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

सोलु खोलामा निर्माण भईरहेको ८६ मेगावाटको सोलुखोला दूधकोसी हाइड्रोपावरका समान ओसारपसार गर्ने टिपर दुर्घटनामा पर्दा चालक धादिङको थाक्रे गाउँपालिकाका कमल मगर, मकवानपुरको बागमती गाउँपालिका– ४ का राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिका–८ का कृष्णलाल चौधरीको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मकवानपुरको बागमती गाउँपालिका–४ का रमेश मगर गम्भीर घाइते भएका छन् । घाइते उनलाई सडकबाट करिब सय मिटर तल भेटिएको थियो । उनलाई टिपरको अगाडिको भागमा अड्किरहेको अवस्थामा उद्धार गरेर उपचारका लागि फाप्लु अस्पताल लगिएको प्रहरीले जनाएको छ । चालकबाहेक मृत्यु भएका दुई र घाइते भएका एक जना हाइड्रोपारका कामदार भएको प्रहरीले जनाएको छ ।

हाईड्रोपावरका लागि जाली र रड लिएर गएको बा ४ ख ७९८० नम्बरको टिपर सोलुदूधकुण्ड नगरपालिका–११ बरडाँडा गिद्धेभीरमा आइतबार राति ११ बजेतिर दुर्घटनामा परेको हो । भीरबाट खसेको टिपर टुक्रा टुक्रा भएको थियो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको बताएको छ ।