बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले झापाको बिर्तामोड क्षेत्रमा हराएका १५ वटा  मोटरसाइकलसहित ७ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

प्रहरीले चोरी भएका मोटरसाइकल खोजीमा तीव्रता दिएपछि २४ घण्टामा प्रहरीले १४ वटा मोटरसाइकल र एउटा स्कुटर बरामद गरेको हो । गत हप्तासम्म विर्तामोडबाट ठुलै संख्यामा मोटरसाइकल हराइरहेका थिए ।

मोटरसाइकल धनीले खोजीका लागि प्रहरीमा निवेदन दिएपछि इप्रका अनारमनीले चोरीमा संलग्न सातजना युवासहित मोटरसाइकल पक्राउ गरेको छ । पक्राउ पर्ने इलामको माइ नगरपालिका, ताप्लेजुङको सिदिङबा गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकाका युवा छन् ।

प्रहरीले इलामको माइ नगरपालिका–२ का रोशन तामाङ्ग, सोही स्थानका रोशन बुढाथोकी, सोही नगरपालिका–६ का रोशन गिरी, राजेश गिरी, मनिष गिरी, पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ का रोशन भन्ने पासाङ तामाङ्ग र सिदिङवा–४ ताप्लेजुङका सन्दिप लिम्बु पक्राउ परेको इप्रका बिर्तामोडका डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

बिर्तामोड नगरपालिका–५ मा डेरा लिएर संगठित रुपमा मोटरसाइकल चचोरी गर्दै आएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा एउटा समुहले मोटरसाइकल चोरी गर्न लामो समय अध्ययन गर्ने, अर्काे समुहले चोरी गर्ने र अर्काे समुहले छिमेकी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङका गाउँमा लगेर बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

बिर्तामोडमा डेरा बस्नुको कारण नै मोटरसाइकल चोरी गर्न देखिएको डिएसपी रिजाल बताउँछन् । उनका अनुसार हरेक दिन साँझ परेपछि उनीहरु बिर्तामोडभित्र विभिन्न स्थानमा मोटरसाइकल चोरी गर्दै आएका छन् ।

एकै समयमा धेरै वटा मोटरसाइकल हराए पछि प्रहरीले प्राथमिकतामा राखेर अनुसन्धानलाई अघि बढाएको थियो । सोहि क्रममा प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका बुढाथोकी र तामाङले चोरी गरिएका मोटरसाइकल विक्रि गर्ने काम गर्थे भने अन्यले बिर्तामोडबाट चोरी गरेर पुर्याइदिन्थे ।

बेलुका ६ देखि ९ बजेसम्म अधिकांश मोटरसाइकल चोरी भएको प्रहरीको भनाई छ । उनीहरुको साथबाट प्रहरीले १५० सिसिको २ वटा अपाची, २२० सिसिको २ वटा पल्सर र बाँकी १५० सिसिको पल्सर बरामद र एउटा स्कुटर गरि बिर्तामोड ल्याएका छन् ।

पक्राउ परेकाहरुलाई म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ ।