बिराटनगर । १ नम्बर प्रदेशका झापा र मोरङ जिल्लाको तिन छुट्टाछुट्टै स्थानबाट शनिवार दिउँसो नियन्त्रीत लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो दमक नगरपालिका-७ का ३६ वर्षीय किसन अग्रवाललाई ३ ग्राम १६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिराटनगर-१४ जतुवाबाट पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मे १ च २८६२ नम्बरको कारमा सवार रहेका अग्रवाललाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद गरेको थियो ।
यसैगरी, बिराटनगर महानगरपालिका-१६ दरैया बस्तीबाट लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका-१५ का २१ बर्षीय बिशाल बि.क., धरान-२ का २६ बर्षीय बिकाश कट्वाल, रामधुनी नगरपालिका-५ का ४२ बर्षीय रमेश लिम्बु र बराह नगरपालिका-५ का २० बर्षीय निकेश श्रेष्ठलाई लुपिजेसिक-१६ एम्पुल , फेनारगन-१६ एम्पुल र एभिल-१६ एम्पुल सहित शनिबार दिउँसो पक्राउ गरेको हो ।
यस्तै, झापाको मेचीनगर नगरपालिका-१० धुलाबारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ बर्षीय अनिल सहनीलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित शनिवार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।