भण्टाबारी । सुनसरीको कोशी गाउँपालीकाबाट सशस्त्र प्रहरीले लागूऔषध बरामद गरेको छ । भारतीय बजारमा लुकाएर ल्याइएको १ सय १० बोतल प्रतिबन्धित लागूऔषध डाइलेक्स डिसि बरामद गरेको सशस्त्र प्रहरी बल बिओपी लौकहीका इन्स्पेक्टर अरुण पाण्डेले जानकारी दिए ।

सशस्त्र प्रहरीको गस्ती टोलिले लागूऔषध बरामद गरेपनि लागूऔषध बोक्ने व्यक्ति भागेको उनको भनाइ छ । कोशी गाउँपालीका १ लौकहीस्थित बंगाली टोलजाने बाटोबाट झोलामा लागूऔषध बोकेको व्यक्ति सशस्त्र प्रहरीलाई देखेर भागेपछि प्रतिबन्धित डाइलेक्स डिसि बरामद गरिएको इन्स्पेक्टर पाण्डेले जानकारी दिए ।

लौकही नाकाहुँदै दिनहुँजसो विभिन्न क्षेत्रबाट लागूऔषध सेवन गर्न भारतीय बजार जान खोज्ने युवाहरुलाई सम्झाई बुझाई पठाउदै आएको उनले बताए । सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएपछि पहिलाको तुलनामा लागूऔषध सेवनकर्ताको संख्यामा उल्लेख्य सुधार आएको पाण्डेको दाबी छ ।

लागूऔषध सेवनकर्ता र कारोबार गर्ने व्यक्तिको संख्या बढेपछि सशस्त्र प्रहरीले स्थानीयवासीमा त्यसका विरुद्ध चेतना फैलाउदै लागूऔषध नियन्त्रण गर्न प्रयासरत रहेको छ ।