विराटनगर । पल्चर मोटसाइकल चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले सोमबार चार जनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर ४ का २० वर्षिय विवेक थन्दार, सोही ठाउँका २० वर्षिय अमन थन्दार, बुढिगंगा गाउँपालिका २ का २० वर्षिय पुजन थन्दार र सुनसरी दुहवी नगरपालिका १० का २० वर्षिय नगेन्द्र चौधरीलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

५ पुसमा राती १० बजे विराटनगरस्थित नोवेल अस्पतालको परिसरमा पार्किङ गरी राखिएको चुडामणी कार्कीको को ३९ प २४४२ नम्बरको मोटरसाईकल चोरी भएको छ ।

पार्किङ्ग गरिएको मोटसाइकल हराएपछि ६ पुसमा रविन्द्र खत्रीले मोरङ प्रहरीमा हराएको मोटसाइकल खोजिगरिदिन निवेदन दर्ता गराएका थिए ।

प्रहरीले हराएको मोटरसाईकल खोजतलास गर्ने क्रममा सोमबार राती ८ बजे विराटनगर ४ स्थित बुढाथोकी मार्गमा पक्राउ परेका चार जना युवाले डोर्याउँदै गर्दा पक्राउ गरेको डिएसपी राईले बताए ।

‘चोरी भएको मोटसाइकलको नम्बर प्लेट परिवर्तन गरि चलाएको पाइएको छ,’ डिएसपी राईले भने, ‘चोरी गरेपछि बास्तबिक नम्बर हटाएर नयाँ नम्बर हालेको अनुसन्धानबाट खुलेको छ ।’