धरान/ धरानको औषधिजन्य सामग्री आपूर्ति गर्ने कम्पनी गर्ग इम्पेक्सले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आपूर्ति गरेको स्प्रिटमा बदमासी गरेको भेटिएको छ ।

प्रतिष्ठानमा केही दिनअगाडि आपूर्ति गरिएको स्प्रिटमा रङ मिसाएको पाइएको छ । जसले गर्दा गुणस्तरहीन स्प्रिट रहेको भन्दै बीपी प्रतिष्ठानले फिर्ता गरेको छ । चिकित्सकहरूले मेडिकल स्टोर, गुणस्तर जाँच समिति, खरिद शाखा र प्रशासनमा व्यापक गुनासो गरेपछि फिर्ता गरिएको हो ।

प्रतिष्ठानका गुणस्तर जाँच समितिका संयोजक परमानन्द गुप्ताले यसपटक प्रतिष्ठानमा आपूर्ति भएको स्प्रिट गुणस्तर जाँच समितिमा नआई मेडिकल स्टोरमा सोझै पु¥याएकोले सुरुमा थाहा हुन नसकेको बताए । उनले भने, ‘यसअघि पनि तीन पटकसम्म गुणस्तरहीन स्प्रिट आपूर्ति भएको थियो । तर, ती सबै बदर गरिएको थियो । यसटक पनि त्यस्तै भयो ।’ यसपटक आपूर्ति भएको स्प्रिटको आवश्यक जाँच नै नगरी प्रतिष्ठानमा आपूर्ति भएको र अस्पतालले पनि विभिन्न विभागमा पठाएको थियो ।

गुणस्तरहीन स्प्रिट आपूर्ति भएको चिकित्सकहरूमार्फत् थाहा पाएपछि फिर्ता गरेको गुप्ताले बताए । गर्ग इम्पेक्स धरानका मेडिकल उपकरण र औषधिसम्बन्धी व्यापारी पवन अग्रवाल र उनका सहोदर भाइ चेतन अग्रवालको निजी फर्म हो । बिरामी उपचार गर्ने स्वास्थ्य क्षेत्रमा प्रयोग हुने गुणस्तरहीन रसायन आपूर्ति गरेर खेलवाड गर्न नहुने प्रतिष्ठानका चिकित्सा एवम् दन्त चिकित्सा कल्याण समाजका अध्यक्ष डा.विष्णु पोखरेलले बताए ।

उनले ब्लाष्टसँग भने, ‘राम्रो भनेर आपूर्ति गरिएको स्प्रिट कतिसम्म गुणस्तरहीन रहेछ भने प्रयोगकर्ताहरूको हात त हरियो भयो नै चोबिएको रुवा पनि हरियो भयो । गुणस्तरीय स्प्रिटमा रुवा चोब्दा न रुवा हरियो रङ्गिन्छ, न त प्रयोगकर्ताको हात नै हरियो हुन्छ । यो त सरासर बदमासी हो ।’ चिकित्सक समाजले गुणस्तरहीन स्प्रिट आपूर्तिकर्ता कम्पनी र व्यक्तिलाई कारबाही गर्नुपर्ने भन्दै आवश्यक छानबिन गर्नसमेत माग गरेको छ ।

प्रतिष्ठानका मेडिकल स्टोर प्रमुख सञ्जीव कर्णले प्रयोग गर्दा गुणस्तरहीन भएको थाहा पाएपछि फिर्ता गरेर गुणस्तरीय स्प्रिट आपूर्ति गर्न लगाएको बताए । प्रतिष्ठानमा स्प्रिट आपूर्ति गर्ने ठेक्का गर्ग इम्पेक्सका सञ्चालक चेतन अग्रवाल र पवन अग्रवाल दाजुभाइले पाएका छन् । उनीहरूले प्रतिष्ठानमा आवश्यक ४ हजार जार स्प्रिट आपूर्ति गर्ने क्रममा पहिलो चरणमा २ सय ८८ जार स्प्रिट आपूर्ति गरेकोमा ती सबै गुणस्तरहीन पुष्टि भएको थियो । चेतन अग्रवालले विराटनगरको एक कम्पनीमार्फत् किनेर प्रतिष्ठानमा गुणस्तरीय स्प्रिट आपूर्ति गरेको तर, चिकित्सकहरूले गुणस्तरहीन भएको बताएपछि फिर्ता गरेर अर्को स्प्रिट आपूर्ति गर्ने तयारी भइरहेको बताए ।