इटहरी/ तीनजना छोराछारीलाई बाथ भनिने अनौठो प्रकारको रोगले सताएपछि इटहरीको तरहरा बस्दै आएको एक परिवार आर्थिक सङ्कटबाट गुज्रिरहेको छ ।

सङ्खुवासभा चैनपुर–२ घर भई हाल इटहरी–१९ मा बस्दै आएका अमृता राईको परिवार आर्थिक सङ्कटमा परेको हो । उनका एक छोरा र दुई छोरी दीर्घकालीन बाथ रोगबाट ग्रसित बनेका छन् । जेठी छोरी प्यारी राईमा करिब १० वर्षअघि बाथ रोग देखिएको थियो । त्यो रोग अहिले छोरा र छोरीमा पनि देखिएको छ ।

रोगबाट ग्रसितका अनुसार शरीरभित्रका मुटु, कलेजो जस्ता अङ्गमा सियोले घोचेजस्तो गर्ने र पछि बाहिरी छालामा पनि घमौरा जस्तो फोका आउने हुन्थ्यो । पीडितमध्ये जेठी छोरीले आठ वर्षसम्म निरन्तर उपचारपछि विहे गरेकी थिइन् । एउटा बच्चा जन्मिएपछि प्यारी राईलाई पुनः रोगले ग्रसित बनाएपछि उनको निधन भएको छ । छोरीबाट जन्मिएकी नातिनी आफ्नो संरक्षणमा रहेको अमृता बताउँछिन् । उनका अनुसार छोरीको उपचारमा करिब १० लाख रुपैयाँ खर्च भएको थियो ।

अहिले छोरा र कान्छी छोरीमा पनि उस्तै रोग देखिएपछि उनी चिन्तित बनेकी छन् । २० वर्षीय छोरा सकुल र १४ वर्षीया छोरी निरुता विगत पाँच वर्षदेखि रोगसँग लडिरहेका छन् । कक्षा ८ मा पढ्दै गरेको बेलामा सकुलमा रोग देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि ल्याएका थिए । शरीरको मुटु, मिर्गौला, पेटबाट बेला–बेलामा पानी निकाल्नु पर्ने भएकाले सङ्खुवासभाबाट धाउन गाह्रो हुनाले कोठा भाडामा लिएर उपचार गर्दै आएको अमृता बताउँछिन् । उनीहरूलाई सातामा एक पटक अस्पताल लानुपर्ने बाध्यता रहेको उनले बताइन् । एक पटकमा २० हजारदेखि एक लाख रुपैयाँसम्म खर्च हुने गरेको उनले बताइन् ।

एक जनालाई प्रतिमहिना १२ हजार रुपैयाँको औषधि खुवाउनुपर्ने बाध्यता छ । दैनिक श्रम गरेर उनी जीविको चलाउँदै आइरहेकी छन् । उनले अहिले सहयोगको याचना गरेकी छन् । इटहरी–१९ का वडासदस्य खेम भारतीले उनीहरू आर्थिक सङ्कटमा रहेकाले सहयोग गरिदिन सबैसँग आग्रह गरे । स्थानीयस्तरबाट सहयोग गर्दै आए पनि पर्याप्त नभएको उनको भनाइ छ । उनको परिवारलाई आश्रयका लागि इटहरी–१९ का पूर्व भारतीय आर्मी जितबहादुर लिम्बूले कोठा दिएका छन् ।

उनले निःशुल्क कोठा दिएका छन् । अप्ठ्यारो परेका बेला खाद्यान्न पनि दिँदै आएका छन् । यसक्रममा लायन्स फुड बैङ्क इटहरीले शुक्रबार पीडितको कोठामै पुगेर खाद्यान्न सहयोग गरेको छ । लायन्स क्लब अफ तरहराका अध्यक्ष दुर्गा पौडेलको समन्वयमा परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको छ ।