धनकुटा । २९ औं अपाङ्ग दिवसको अवसरमा विहिवार धनकुटामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।

यसैक्रममा जिल्लाको छथर जोरपाटी गाउँपालिका धनकुटाले ६ जना फरक क्षमता (अपांगता) भएका ब्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । गाउँपालिकाले २९ औ अपाङ्गता दिवशको अबसरमा आफ्ना पालिकाका प्रत्येक वडाबाट १ जनालाई सम्मान गरेको हो । गाउँपालिकाले एक सम्मान कार्यक्रमको आयोजना गरेर एक उद्यागी,दुई बिद्यार्थी र तीन कृषकलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

सम्मानित तथा पुरस्कृत हुनेहरुमा वडा नं.१ र ५ का बिद्यार्थीहरु रिता कटुवाल र यशोदा लिम्बू, वडा नं २, ३ र ६ बाट कृषक भद्रबहादर बाजिम्पाक (मगर), लक्ष्मीदेवी लिम्बू र सिरबहादुर काप्mले र वडा नं. ४ का व्यवसायी झप्टबहादुर लिम्बू रहेका छन् । अपांग समन्वय समिति छथर जोरपाटी गाउँपालिकाका संयोजक तथा पालिका उपाध्यक्ष भीमकला श्रेष्ठको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्मानित ६ जनालाई कार्यक्रमका अध्यक्ष श्रेष्ठ र पालिकाका अध्यक्ष लिम्बूले नगद, प्रमाण–पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा अध्यक्ष लिम्बूले अपांङ्गता रोकथाम र अपांग पुनःस्थापना सम्बन्धि गाउँपालिकाले गरेको कामको बिषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा समुदायमा आधारित अपाङ्ग पुनःस्थापना कार्यक्रमका सहजकर्ता प्रदिप ओझाले अपांगताका बिषयमा चर्चा तथा लागु हुन लागेको अपाङ्गता पुुनःस्थापना कार्यक्रमका बारेमा जानकारी दिए । कार्यक्रममा अपांग कल्याण संघ छथरजोरपाटीका तुलबहादुर भट्टराई, अपांग समन्वय समिति सदस्य बेगबहादुर सिंजाली, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर लगायतको उपस्थिति रहेको थियो ।