ब्लाष्टखबर ।  इटहरीका गाँउ–गाँउमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई विकेन्द्रित गरिएको छ । अभियानका क्रममा इटहरीका सबै २० वटै वडामा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीका सबै वडामा गठित किशोरी साथीसमूह, प्रतिरक्षा समूह र महिला संजालसँग वडा–वडामा अन्तरक्रिया गरिदै छ । इटहरीका वडाहरुमा ६३ वटा किशोरी साथी समूह २० वटा प्रतिरक्षा समूह सकृय छन । यहिक्रममा शुक्रबार वडा नम्वर १९ र २० मापनि अन्तरक्रिया सम्पन्न भएकाे छ ।

वडामा लैगिंक हिंसाको अवस्था,चुनौती,साथी समूह र प्रतिरक्षा समूह गठन भएपछि गरिएका कार्य,समस्या लगायतका बिषयमा अन्तरक्रिया भएको छ । २० वटै वडामा अन्तरक्रिया गरेर त्यसैका आधारमा वार्षिक कार्ययोजना बनाइने उपप्रमुख गौतमले बताइन् ।

खुल्ला ठाँउमा दुरी कायम गरेर स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्वन गरेर कार्यक्रम गरिदै छ । १२ देखि २३ गते सम्म अन्तरक्रिया कार्यक्रम गरिने छ । अपांङ्गता भएकाहरु,बालबालिका र जेष्ठ नागरिकका लागि छुटटा छुटटै कार्यक्रमहरु तय गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६दिने अभियानका क्रममा टोल टोलमा पुग्नेगरि ४० बढि कार्यक्रम आयोजना गरिने भएकाे छ  ।

उपप्रमुख गौतमले भनिन् “कोरोना छ भनेर चुप लागेर बस्नुहुदैन,धेरै जना भेला भएर ठूलो कार्यक्रम गर्न भएन,स–सना कार्यक्रम बनाएका छौ वडा–वडा टोल–टोलमा गएर सानो–सानो समूहमा कार्यक्रम गरिर अभियानलाई विगत वर्ष भन्दा अझ ब्यापक बनाउदै छौ । 

अभियानका क्रममा न्यायिक समति संयोजक उपमेयर गौतम, न्यायिक समिति सदस्यहरु, महिला सदस्यहरु, महिला संजालसहित सबै वडाका टोल टोलमा पुगेर अन्तरक्रिया सुरु गरिएको हो ।

अभियानका क्रममा न्यायिक समितिले गर्ने कार्यहरु उल्लेख गरेर १५ हजार ब्राेसर वितरण गरिदै छ । ब्राेसरबाट हिंसामा परेपछि के गर्ने ? कहाँ जाने भन्ने प्रष्ट जानकारी हुने उपमेयर गौतमले बताइन् ।