धनकुटा । धनकुटा नगरपालिका–६ स्थित ल्याण्डफिल्ड साईडमा नगरपालिका र एशियाली विकास वैंकको संयुक्त लगानीमा मानव मलमुत्र व्यवस्थापन आयोजना संचालन हुने भएको छ ।

मानव मलमुत्रको फोहोर व्यवस्थापन प्रणाली निर्माण आयोजनाको बारेमा धनकुटा नगरपालिकाले प्रारम्भिक वातवारणिय परिक्षण सम्वन्धी आयोजना गरेको सार्वजानिक सुनवाई कार्यक्रममा सरोकारवालाहरुलाई यस्तो जानकारी दिइएको हो ।

तेश्रो साना शहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजना, आयोजना व्यवस्थापन कार्यालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग काठमाण्डौंको सहजीकरणमा सम्पन्न सार्वजानिक सुनवाई कार्यक्रममा बोल्दै धनकुटा नगरका प्रमुख चिन्तन तामाङले २ वर्ष देखी डिपिआरको काम भैरहेको जानकारी दिए । उनले हालसम्म आयोजनाको डिपिआर रिपोर्ट आईसकेको वताए । साथै, उनले आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई प्रभाव नपर्ने गरी परियोजना संचालन गर्ने बताए ।

सो अवसरमा बोल्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका श्रोत व्यक्ति केशवराज विष्टले परियोजनाको जम्मा लागत ४ करोड, १८ लाख, ८८ हजार, ४ सय ८८ रुपयाँ रहेको वताए । उनले परियोजना कार्यान्वयन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागले ४ करोड, ६२ लाख, ६८ हजार, ९ सय ७८ रुपयाँ र धनकुटा नगरपालिकाले ६९ लाख, ४० हजार, ३ सय ४६ रुपयाँ वरावरको लागत साझेदारीमा धनकुटा मानव मलमुत्र व्यवस्थापन आयोजना सम्पन्न हुने जानकारी दिए । जसमा कुल लागतको १५ प्रतिसत नगरपालिकाले र ८५ प्रतिसत एसियाली विकास वैंकको सहयोगमा विभाग मार्फत आयोजना कार्यान्वयन हुने वताइएको छ ।
सो अवसरमा वातवरणविद् योगेश शाक्यले मानव मल मुत्रिय फोहोर व्यवस्थापन प्रणाली निर्माण, परियोजनाका विभिन्न क्रियाकलापहरु, नेपालमा हालसम्म संचालनमा रहेका परियोजनाहरुको वर्तमान अवस्थाको वारेमा जानकारी दिएका थिए । उनले यस्ता खाले परियोजना नेपालभर १० वटा स्थानिय तहहरुमा सम्झौता अध्ययन भएपनि हालसम्म ६ वटाको डिपिआर भैसकेको वताए । सो अवसरमा धनकुटा नगरका उप–प्रमुख शकुन्तला वस्नेत, विभिन्न वडाका वडाध्यक्षहरु, सरोकारवाला संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु र ल्याण्डफिल्ड साईड प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुको उपस्थिति रहेको थियो ।