धरान । देशभर कक्षा १२ को परिक्षा गत मङ्गलबारबाट सञ्चालन भएको छ । काेराेना महामारीकाे बिचमा संञ्चालनज भएकाे उक्त परिक्षाकाे धरान उपमाहानगरका नगरप्रमुख तथा उपप्रमुखसहितकाे टाेलिले  परिक्षाको तेस्रो दिन आज (बिहीबार) संयुक्त रुपमा अनुगमन गरेका छन् ।

नगरप्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुबेदी, शिक्षा शाखा अधिकृत रामचन्द्र कार्की र प्रशासकिय प्रमुख विदुर प्रसाद खनालको संयुक्त टाेलिले धरानका विभिन्न स्कुलमा गइ  जनस्वास्थ्यका मापदण्ड पालना गरी ४० नम्बरका लागि लिइएको सो परीक्षाको अनुगमन गरेका हुन् ।

उनिहरूले धरानकाे पब्लिक उच्च माध्यमिक विद्यालय, युएन कलेज र नवोदय माध्यमिक विद्यालयमा पुगेर परिक्षाकाे अनुगमन गरेका थिए । अनुगमनका क्रममा नगरप्रमुख राईले कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित ढंगबाट सञ्चालन भईरहेको जानकारी दिए ।

नगरप्रमुख राईका अनुसार अनुगमन गरिएको विद्यालयमा परिक्षार्थी र शिक्षकले स्वास्थ्य मापदण्डको पालना गरेको पाईएको थियो । अनुगमनका क्रममा निजि विद्यालयमा स्वास्थ्य फोकल पर्शन राखिएको भेटिएको बताउँदै राईले सामुदायिक विद्यालयमा पनि स्वास्थ्य फोकल पर्शन (स्टाफ नर्श) राख्न आवश्यक रहेको बताए ।

उनले धरानमा पनि स्वास्थ्य प्रोटोकलको पालना गरि विद्यालयहरु खुलाउने तयारी भईरहेको पनि बताएका छन् । त्यस्तै,  अनुमगनका क्रममा विद्यालयहरुमा मर्यादित र व्यवस्थित तरिकाले परिक्षा सञ्चालन भईरहेको पाइएको बताउँदै, परीक्षा चुस्त व्यवस्थापनबाट सञ्चालन भईरहेको प्रति आफू सन्तुष्ट रहेको उपप्रमुख भण्डारीले बताएकी छिन् । 

धरान १२ मा रहकाे पब्लिक उच्च माध्यमिक विद्यालयका प्रध्यानध्यापक ईन्द्र मोहन झाले परिक्षा अत्यन्तै मर्यादित ढंगबाट सञ्चालन भईरहेको बताउँदै अब चाडै नै विद्यालयहरु खुलाउनुपर्ने बताएका छन् ।

उनले लामो समय बन्दाबन्दीका कारण विद्यार्थीहरुको भविष्य डामाडोल हुने स्थितिमा पुगेको बताउँदै, प्रत्येक विद्यालयमा हेल्थ डेस्कको व्यवस्था गरी फोकल पर्शनको रुपमा एक जना स्टाफ नर्श राखि विद्यालय सञ्चालन हुनुपर्ने बताएका छन् । गत वैशाख ८ गतेका लागि तोकिएको परीक्षा कोभिड–१९ र बन्दाबन्दीका कारण स्थगन भएको थियो ।

 

प्रध्यानाध्यापक र अभिभावकहरुसँग समन्वय गरेर विद्यालयहरु खुलाइने  

धरान उपमहागरका शिक्षा तथा खेलकुद शाखाका अधिकृत रामचन्द्र कार्कीले शिक्षा मन्त्रालयबाट नै विद्यालय खुला गर्न निर्देशन आएको बताउँदै विद्यालयका प्रध्यानाध्यापक र अभिभावकहरुसँग समन्वय गरेर विद्यालयहरु खुलाउने तयारी भईरहेको जानकारी दिएका छन् ।

उनका अनुसार सबैको मनसाय नै विद्यालय खुलाउनुपर्ने भएकाे र यस विषयमा शिक्षक र अभिभावकहरूपनि सकरात्मक रहेको कार्कीले बताएका छन् ।

‘विद्यालयहरु खुल्छ, केही दिन अघिमात्र यस विषयमा विद्यालयका प्रध्यानाध्यापक र अभिभावकहरुसंग धरान उपमहानगरको बैठक भएको थियो, आज विद्यालयका प्रध्यानाध्यापकहरुले मेयरलाई सुझाव प्रतिवेदन बुझाउँदैछ’ उनले भने ।

 

विद्यालय खुलाउन उचित नहुने

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका माईक्रोबायोलोजि विभागका एडिसनल प्रोफेसर डा. नारायणराज भट्टराईले भने यस्तो विषम परिस्थितिमा विद्यालय खुलाउन उचित नहुने बताएका छन् ।

बालबालिकाहरुमा मास्क लगाउने बानि नभएको बताउँदै उनले भने, ‘घरबाट अभिभावकहरुले बालबालिकालाई मास्क लगाएर विद्यालय पठाएका हुन्छन्, घर फर्किन्दा मास्क हुँदैन, विद्यालयमा धेरै खाल्को विद्यार्थी हुन्छन्, जसले गर्दा बालबालिका मात्र नभई अभिभावकमा समेत संक्रमण सर्न सक्छ ।’

जाडो मौसम सुरु भएसँगै बालबालिका झन् संक्रमण खतरा हुन सक्ने उनको भनाई छ । अहिलेको अवस्थामा अनलाईन माध्यमबाट नै अध्ययन गराउन ठिक रहेको प्रोफेसर डा. भट्टराईले बताएका छन् ।