सुनसरी/ दक्षिणकाली बचत तथा ऋण सहकारी संस्थाले बुधबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।

इटहरी–६ पश्चिमलाइनस्थित पिसजोन बोर्डिङ स्कुलनजिकै सहकारीले आफ्नै भवन निर्माण सम्पन्न गरेको संस्थाका व्यवस्थापक रामबाबु नेपालले बताए । उनका अनुसार ८ धुर जग्गामा तीन तले भवन निर्माण गरिएको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद नेपालले सो भवनको उद्घाटन गर्दै संस्थाको कारोबार अब आफ्नै भवनबाट सुरु गरेको जानकारी गराएका थिए ।

झण्डै चार सय शेयर सदस्य रहेको सो सहकारीले वार्षिक ७ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको पनि व्यवस्थापक नेपालले जानकारी दिए । सामुदायिक प्रयोजनको लागि समेत उपयुक्त हुने हिसाबले भवन निर्माण गरिएको उनले जानकारी दिए ।

करिब ५५ लाख रुपैयाँमा जग्गा खरिद गरी ६७ लाख रुपैयाँमा भवन निर्माण गरिएको संस्थाले जनाएको छ । भवनमा सभाहल, काउण्टर, सेफ, कार्यालय कोठा रहेका छन् । २०६४ सालमा सो संस्था स्थापना भएको हो ।