ब्लाष्टखबर । बर्दिबास नगरपालिका-१४ सुगम बस्ती बालिकाकाे बलात्कारपछि हत्या भएकाे भन्दै स्थानियले सडकमा प्रर्दशन गर्नुका साथै आराेपीकाे पसल रहेकाे घरमा समेत आगजनी गरेका छन् ।
आफ्नै घर अगाडि खेलिरहेको अवस्थामा आइतबार साँझबाट हराएकी सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको शव मंगलबार फेला परेकाे थियाे । बालिकाकाे हत्याको अभियोगमा सोही ठाउँ पसल गरी बस्ने गौशाला नगरपालिका-५ जिरो माईल घर भएका २६ वर्षीय अरुण कुमार साहलाई गएराति प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएकाे छ ।
बालिकाको बलात्कारपछि हत्या भएको भन्दै मंलबार बिहानै देखी विरोधमा उत्रिए स्थानियले बालिकाकाे शव राजमार्गमा राखी पूर्वपश्चिम राजमार्ग बन्द गर्नुकासाथै आराेपीकाे पसल रहेकाे घरमा समेत आगजनी गरेका छन् ।
बालिका हत्याको विरोधमा भएकाे उक्त विरोध प्रदर्शन राेकी राजमार्ग खुलाउन प्रहरीले दर्जनौं राउण्ड अश्रु ग्यास र गोली समेत चलाएकाे छ । प्रहरीले चलाएकाे गाेली लागेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा स्थानिय श्याम कार्की, सञ्जय न्यौपाने र नाम नखुलेका अर्काे एकजना छन् । घाइते मध्ये दुई जनालाई उपचारकालागी हेलिकप्टरबाट काठमाडौं पठाइएको तथा अर्का एकजनाकाे बर्दिवासस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएकाे छ ।
आइतबार साँझ पसलमा सामान किन्न गएकी बालिकालाई साहले पसलको पछाडिको कोठामा लगि तौलियाले घाँटी थिच्दा मृत्यु भएपछि शव आफू सुत्ने कोठामा लगि राखेको र सोमबार साँझ शव बोरामा हाली घर भन्दा अन्दाजी ४० मिटर टाढा बारीमा फालेको खुलेकाे कार्यालयले जनाएकाे छ ।
घटना पश्चात अरूणले गौशाला नगरपालिका-५ स्थित घरमा गई घर परिवारलाई घटनाबारे जानकारी गराए पश्चात निजको बुबाले ईलाका प्रहरी कार्यालय गौशालामा पुर्याएपछि उनलाई प्रहरीले पक्राउ गरेको कार्यालयले बताएकाे छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय महोत्तरी, ईलाका प्रहरी कार्यालय बर्दिबास तथा सशस्त्र प्रहरी बलबाट समेत खटिएको प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास तथा घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएकाे छ ।