धरान/रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखाले तेस्रो वार्षिकोत्सवको अवसर पारेर धरानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदानमा ४० युनिट रगत संकलन भएको शाखा प्रमुख सुजेन्द्र गोले तामाङले जानकारी दिए । रगत अभावलाई मध्यनजर गर्दै कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको उनले जानकारी दिए । कार्यक्रममा एक्चालीसौं पटक रगत दान गर्ने धरान–१८ निवासी प्रेमकुमार राई र छत्तीसौं पटक रक्तदान गर्ने मोरङ बेलबारी निवासी विनोद गिरीलाई विशेष सम्मान गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा गरिएको रक्तदानमा सोसाइटीका जिल्ला सभापति एवम् केन्द्रीय सदस्य उमेश थापाले कोरोना महामारीका बीच सामाजिक उत्तरदायित्व बहन गरेकोमा धन्यवाद ज्ञापन गरे । त्यसक्रममा बीपी प्रतिष्ठानमा उपचाररत ताप्लेजुङकी प्रिया राईलाई रक्तदान स्थलबाटै ३ युनिट रगत प्रदान गरिएको थियो ।