धरान । मोरङ र सुनसरीका छुट्टाछुट्टा स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुई जना गम्भीर घाइते बनेका छन् ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गोठगाउँमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते बनेका छन् । शुक्रबार भएको दुर्घटनामा संखुवासभा घर भएका ५३ वर्षीय टेकबहादुर कार्की गम्भीर घाइते बनेका हुन् । उनलाई उपचारको लागि मोरङ विराटनगरस्थित विराट नर्सिङ होममा उपचाररत छन् ।

को ३५ प ११८५ नम्बरको मोटरसाइकलकले ठक्कर दिएको थियो । प्रहरीका अनुसार कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ । मोटरसाइकल चालक सुनसरी रामधुनी–३ का गुरुप्रसाद चौलागाई उपचारमा खटिएका छन् ।

त्यस्तै इटहरी उपमहानगरपालिका–२ हलगडा सडक खण्डमा सडकको बीच भागमा राखिएको डिभाइडरमा ठक्कर दिँदा खोटाङ घर भई इटहरी–१७ बस्ने ३५ वर्षका भिमान राई गम्भीर घाइते बनेका छन् । उनी इटहरीस्थित एपेक्स हस्पिटलमा उपचाररत रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्र १–०२–०४० प १३५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठक्कर दिँदा घाइते बनेका थिए ।