भण्टाबारी । जाडो बढिरहेको बेला कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आउने हात्तीको समूह मानव बस्तीमा ताण्डव मच्चाउने गरेको छ । कोरोना महामारीका कारण लामो लकडाउनमा काम गर्न नपाउदा हातमुख जोर्न समस्या भइरहेको बेला हात्तीले घर भत्काईदिदा कोशी क्षेत्रका विपन्न समुदायको बिचल्ली भएको छ ।

वन्यजन्तु आरक्षबाट निस्केर आएको जंगली हात्तीले कोशी गाउँपालीका ५ स्थित कुम्याहीमा बिहीबार रातभर ताण्डव मच्चाएको स्थानीय सागर पण्डितले जानकारी दिए ।

आरक्षबाट गाउँमा आएको दुईवटा हात्तीले स्थानीय चतुरिनन्द पण्डितको घर तोडफोड गर्दै घरभित्र रहेको धान,गहुँ,चामल खाएर नष्ट गरिदिएको उनले बताए । हात्तीलाई स्थानीयबासी सशस्त्र प्रहरी र नेपाल प्रहरीले पटका र ट्याक्टरको सहाराले धपाएका थिए ।

जाडो बढिरहेको समयमा दिनहुुँ गाउँ पस्ने हात्तीका कारण जीवनयापन गर्न निकै समस्या भएको सागरले गुनासो गरे । कोशी टप्पु वन्यजन्तु आरक्षबाट मानव बस्ती प्रवेश गर्ने हात्तीको समूहले आरक्ष आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीयको बिल्लिबाठ पार्दै आएको छ ।

नियमितरूपमा आउने हात्तीको समूहले पछिल्लो एक महिनाको अवधिमा कोशी क्षेत्रमा १४ वटा घर भत्काईदिएको कोशी गाउँपालीका ४ का विध्यान्न यादवले बताए ।

कोरोना महामारीका कारण काम गर्न नपाइरहेको अवस्थामा विपन्न समुदायले जोहो गरेर राखेको अन्नसमेत हात्तीले खाएर नष्ट गरिदिदा समस्या थपिएको उनको भनाइ छ ।

विपन्न समुदायलाई एक छाक टार्न धौधौ परिरहेको बेला हात्तीले खाद्यान्न लगायतका सामाग्री नष्ट गरिदिने क्रम बढेपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो । साँझपरेपछि आरक्षबाट बस्ती आसपास लुकेर बस्ने हात्तीको समूह मध्यरातमा घर भत्काउने गरेको छ । जाडोको समयमा घरमा आराम गरिरहेको बखत मध्यरातमा आएको हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाएको चतुरिनन्दले जानकारी दिए ।

हात्तीले घर भत्काएर अन्नपात खाएर नष्ट गर्दै अन्य बहुमुल्य सामान क्षति गरिदिदा अन्दाजी १ लाख बराबरको क्षति भएको उनको भनाइ छ् । रोजगारी खोसिएको बेला हात्तीले घर भत्काई खाद्यान्नसमेत खाइदिएपछि छाक टार्न समस्या भएको उनले गुनासो गरे ।

आरक्षबाट निस्केर आएको हात्तीको समूहले केही दिनअघि कोशी गाउँपालीका ४ र ६ नम्बर वार्डमा ८ वटा घर भत्काई भण्डारण गरेर राखिएको धान,गहुँ खाएर नष्ट गरेको थियो ।

हात्ती आक्रमणबाट घाइते 
 
कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको हात्तीको समूह शुक्रबार बिहान फर्किने क्रममा आक्रमण गर्दा कोशी गाउँपालीका ४ का स्थानीय बसिर मिया घाइते भएको वडाध्यक्ष अमिन मिया नेपालीले जानकारी दिए ।
 
घाइते मियाको ढाड भाचिएको बताउदै नेपालीले उनलाई गम्भीर अवस्थामा उपचारको लागि बिराटनगर पठाएको बताए । हात्तीले दुईवटा घरसमेत भत्काई खाद्यान्न खाएर नष्ट गरेको उनले बताए । कोशी गाउँपालीका ४ का स्थानीय रहमत मन्सुरी र इस्लाम मन्सुरीको एक एक वटा टिनको छानो भएको घर हात्तीले भत्काईदिएको वडाध्यक्ष नेपालीले जानकारी दिए । सो क्रममा १ लाखबढीको क्षति भएको स्थानीयले बताएका छन् ।
 
हात्तीलाई मानव बस्ती जानबाट रोक्न आरक्ष प्रशासन हरसम्भव प्रयास गर्दै आएको बताउने कोशी टप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन तथा सूचना अधिकारी झोलाई चौधरीले हात्तीलाई रोक्न असमर्थ रहेको स्वीकार गरे । शुक्रबार हात्ती आक्रमणबाट घाइते भएका व्यक्तिलाई उपचारका लागि पठाएको उनले बताए ।
 
जाडोको बेला सर्वसाधारणलाई जंगली हात्तीले थप दुख दिने भएकोले आरक्ष प्रशासन हात्ती रोक्न सक्ने उपायका बारेमा छलफल गरिरहेको सूचना अधिकारी चौधरीको भनाइ छ । हात्तीलाई मानवबस्ती जानबाट रोक्न आरक्ष प्रशासनले करोडौं खर्च गरेर सोलार तारवार जडान गरेपनि उक्त उपाय प्रभावकारी भएको छैन ।