पथरी/ लामो समयदेखि प्यारालाइसिस रोगबाट पीडित मुलुकसिंह लिम्बूको उपचारको लागि किरात याक्थुङ चुम्लुङ जापान शाखाले आर्थिक सहयोग गरेको छ ।

कानेपोखरी गाउँपालिका–४ प्रगतिचोकका ६० वर्षीय लिम्बूको उपचारका लागि ३८ हजार ४ सय ६० रुपैयाँ सहयोग गरेको हो । याक्थुङ चुम्लुङ जापानमा आबद्ध नेपालीहरूले रकम सङ्कलन गरेर सहयोग गरेका हुन् । बिहीबार पीडितको घरमै पुगेर रकम हस्तान्तरण गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष विवेक लिम्बू, किरात याक्थुङ चुम्लुङ पूर्व सञ्चालक इन्द्र सुब्बा र जयराज संयोकले हस्तान्तरण गरे । रकम हस्तान्तरण कार्यक्रम किरात याक्थुङ चुम्लुङ जिल्ला मोरङको आयोजनामा भएको थियो । किराचु जापान शाखाले किरात याक्थुङ चुम्लुङ जिल्ला मोरङलाई रकम पठाएको थियो ।

यसअघि स्थानीय छिमेकी समाजेवी भूपेन्द्र सुब्बा र हाल वैदेशिक रोजगारमा साउदीमा रहेका भीम लिम्बूको विशेष पहलमा १ लाख १६ हजार १ सय ६० रुपैयाँ रकम हस्तान्तरण गरेका थिए । बिरामी मुलुकसिंहलाई उपचारको लागि भारतको खरैयासम्म लगेर उपचार भइरहेको भूपेन्द्र सुब्बाले बताए । त्यहाँबाट ल्याएको औषधि अहिले दैनिक प्रयोग गरिरहेका छन् ।