बेलबारी/ खुल्ला दिसामुक्त घोषणा भएको दुई वर्षपछि मोरङको बेलबारीबाट हरियो स्टिकर टाँस्ने अभियान थालिएको छ ।

छ वटा सूचकको आधारमा सरसफाइ गर्ने घरहरूमा स्टिकर टाँस्न थालिएको हो । घरआँगन र परिवारको स्वास्थ्य–व्यवहार हेरेर पालिका स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समितिको सिफारिसमा जिल्ला खानेपानी तथा सरसफाइ समन्वय समितिले हरियो स्टिकर दिने गर्छ ।

केही सफा घरलाई निलो र पूर्ण सफा घरलाई हरियो स्टिकर दिन पनि पाँच सूचक बनाइएको छ । जुन घरका सदस्य चर्पीमा दिसापिसाब गर्छन्, फर्केर साबुन–पानीले हात धुन्छन्, त्यसले हरियो स्टिकर पाउँछ । हरियो स्टिकर पाउन घर र आँगनसमेत सफा हुनुपर्छ, अनि खाना र पानी पनि अनियमित र दूषित हुनुहुन्न लगायतका सूचकका आधारमा घरमा हरियो स्टिकर टाँसिने जिल्ला खानेपानी, सरसफाइ स्वच्छता समन्वय समिति मोरङका संयोजक तथा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोख्रेलले बताए । उनका अनुसार सूचकलाई नै आधार मानेर पालिका तथा वडास्तरीय अनुगमन समितिले अनुगमन गरेर सिफारिस गरेपछि मात्रै हरियो स्टिकर टाँस्ने गरिन्छ ।

सूचकमा १ सय अङ्क प्राप्त गर्ने घरपरिवारले मात्रै स्टिकर प्राप्त गर्ने जिल्ला सरसफाइ मार्गदर्शनको अनुगमन खण्डमा उल्लेख गरिएको छ । बेलबारी नगरपालिका वडा नं. ११ मा रहेको मिलन टोल सरसफाइ व्यवस्थापन समितिका कोषाध्यक्ष कल्पना क्षेत्रीले बेलबारीकै नयाँ बस्तीको रूपमा रहेको मिलन टोललाई पर्यटकीयस्थलको रूपमा विकास गर्ने योजना रहेको बताइन् । ‘सबै घरधुरीमा शौचालय छन्, सबै घरमा फूलबारी बनाइएको छ’ उनले भनिन्, ‘पानी उमालेर तथा शुद्धीकरण गरेर मात्रै खान्छौं ।’ मिलन टोलका सबै घरधुरीमा स्थानीय कच्चापदार्थ बाँसको प्रयोग गरेर सबै घरअगाडि चोयाबाट फोहोर सङ्कलन गर्ने टोकरी राखिएको छ ।

स्टिकरमा खण्ड–खण्ड गरेर पाँचवटा मापदण्ड उल्लेख छ । तीमध्ये पूरा भएका मापदण्डमा परीक्षण टोलीले चिह्न लगाउँछ । पाँचवटैमा चिह्न लागेपछि त्यो घरमा पूर्ण सफा घरले पाउने हरियो स्टिकर टाँसिन्छ । हरियो स्टिकर टाँसिने घरहरू झट्ट हेर्दासमेत सफा र सुन्दर देखिन्छन् । नगरपालिकास्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समितिले हरियो स्टिकर टाँस्नु अघि घरहरूको अनुगमन गर्ने गर्छ । बेलबारीका ३ वटा वडाबाट हरियो स्टिकर टाँस्न थालिएको हो । ८, १० र ११ बाट हरियो स्टिकर टाँस्न थालिएको छ । यो अभियानले कोरोना महामारीसँग लड्नसमेत मद्दत पुगेको बेलबारी–११ का वडाध्यक्ष यमबहादुर पोख्रेल (राजन) ले बताए ।

पूर्ण सरसफाइका लागि मोरङमा दुईवटा संस्था युएन ह्याबिट्याट र नारी विकास सङ्घले कार्यक्रम गरिरहेका छन् । खुला दिसामुक्त घोषणा गर्न नै समस्या परेका घरहरूमा हरियो स्टिकर टाँस्न थालिएको युएन ह्याबिट्याट जिल्ला संयोजक विनोद शर्माले बताए । उनका अनुसार जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङको जिल्ला पूर्ण सरसफाइ मार्गदर्शन २०७७ मा सफा र स्वच्छ क्षेत्रका सूचक पूरा गरेका घरधुरीहरूको अनुगमनपछि स्टिकर टाँस्न थालिएको हो । ५ वर्षभित्रमा मोरङका १७ वटै स्थानीय तहमा हरियो स्टिकर टाँसिसक्ने लक्ष्य राखिएको उनले बताए ।