पथरी/ मोरङको उर्लाबारी नगरपालिका–९ का व्यवसायी इन्द्रकुमार योञ्जन लामालाई कुटपिट गर्ने शिक्षक, पशु चिकित्सक र सिभिल इञ्जिनियर विरुद्ध बुधबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा मुद्दा दर्ता भएको छ ।

घटना कात्तिक २८ गते राति ९ बजेको हो । ४३ वर्षीय इन्द्र लामा, उर्लाबारी–९ राजघाटमा रहेको लामा काष्ठ उद्योगका सञ्चालक हुन् । लामाले त्यो दिन नजिकका मित्रहरू नारायण बस्नेत, नेत्र गुरुङलगायतलाई उद्योगमै बोलाएर तिहारको पार्टी खुवाएका थिए ।

लामाको उद्योगमा बसेर रमाइलो गर्दैगर्दा त्यहाँ रहेका नारायण बस्नेतलाई उर्लाबारी–८ का ३१ वर्षीय प्रज्वल गौतमले फोन गरेर चौकमा बोलाएका थिए । गौतम र केशव घिमिरेले एउटै फोनबाट बियर खान भन्दै बोलाए पनि आफू आज ननिस्कने खानै परे ३ दिनपछि भेटांैला भनेको नारायण बस्नेतले बताए । बस्नेत स्थानीय समाजसेवी हुन् । फोनमा कहाँ हुनुहुन्छ भनेको भनेकै गरेपछि इन्द्र लामाले बस्नेतको फोन लाउड स्पिक गरेर ‘उहाँहरू मेरो मिलमा हुनुहुन्छ, आज आउनुहुन्न’ भनेर फोन राखेका थिए ।

यति भएपछि प्रज्वल गौतम र केशव घिमिरे फोन राखेको करिब ३ मिनेटमा मिलमा आइपुगे । त्यहाँ आइपुगेपछि विषयले अर्को मोड लियो । उर्लाबारीको सुनगाभा बोर्डिङ स्कुलमा पढाउने शिक्षक केशव घिमिरेले लामा, बस्नेत र गुरुङसँग रहेका अर्का व्यक्तिलाई तथानाम गाली गर्न थालेको नारायण बस्नेतले बताए ।

समाजमा सुन्नै नसक्ने गाली गर्न थालेपछि इन्द्रकुमार योञ्जन लामाले मेरो गेष्टलाई किन गाली गरेको भन्दै त्यसो नगर्न भनेका थिए । शिक्षक घिमिरेले गालीगलौज गरिरहँदा उनीसँगै आएका प्रज्वल गौतमले क्यामराज ओझालाई फोन गरेर केटाहरू लिएर मिलमा आउनू भनेर बोलाएको नारायण बस्नेतले बताए ।

क्यामराज ओझा ६–७ जना केटाहरू लिएर आएपछि उद्योग सञ्चालक लामाकाथि कुटपिट भएको थियो । उनीहरूको कुटपिटबाट लामाको अनुहार र हातमा चोट लागेको छ । कुटपिट गर्ने घिमिरे बोर्डिङ स्कुलका शिक्षक, गौतम सिभिल इञ्जिनियर र ओझा पशु चिकित्सक रहेको घटनाको प्रत्यक्षदर्शी नारायण बस्नेतले बताए ।

घटनामा घाइते इन्द्र लामाको झापा बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भएको थियो । कुटपिटमा संलग्न तीनै जनालाई स्थानीयले पक्राउ गरी इलाका प्रहरी कार्यालय उर्लाबारीमा बुझाएका थिए । यद्यपि प्रहरी कार्यालयले ४–५ घण्टापछि उनीहरूलाई छाडेको थियो ।

अस्पतालबाट आएपछि पीडित इन्द्र लामाले बुधबार (मङ्सिर ३ मा) अभद्र व्यवहारमा जाहेरी दिएर तत्काल पक्राउ गरी कडा कारबाहीको माग गरेका छन् । घटनामा एक थान काठको दराज, आइफोन–६, आइप्याड एयर–२ मा क्षति भएको दाबी गर्दै क्षतिपूर्तिको समेत माग गरेका छन् ।