धनकुटा/ ठेक्का सम्झौता अवधिमा काम नसक्ने प्रवृत्ति रहिरहेका बेला धनकुटामा भने सम्झौताभन्दा ६ महिना अगावै काम सक्ने निर्माण व्यवसायीलाई पुरस्कृत गरिएको छ ।

धनकुटाको शहीदभूमि गाउँपालिका–६ आँखीसल्लास्थित स्वास्थ्य चौकी भवनको सम्झौता अवधिभन्दा ६ महिना अगावै ठेकेदार कम्पनी सगरमाथा जेभी सुदीक्षा थुलुङ कन्स्ट्रक्सनले पूरा गरेको हो । जेभीका सञ्चालक प्रकाश थुलुङ राईलाई पुरस्कृतसँगै सम्मानित पनि गरिएको छ । सघन सहरी भवन निर्माण आयोजना धनकुटाले १३ लाख ८५ हजार नगदले पुरस्कृत एवम् आँखीसल्ला स्वास्थ्य चौकी धनकुटाको तर्फबाट कदरपत्रले सम्मान गरिएको हो । भवन उद्घाटनको क्रममा सङ्घीय सांसद् राजेन्द्रकुमार राईले सम्मान एवम् पुरस्कृत गरे ।

कन्स्ट्रक्सनले २०७५ असार २५ गते २ तले ८ कोठे पक्की भवन निर्माण गर्नको लागि सम्झौता गरेको थियो । २०७६ पुस २४ गते निर्माण कार्य सम्पन्न गर्ने गरी मिति तोकिएको थियो । तर, तोकिएको अवधि १ वर्ष १८ महिना रहेको सो समयावधि भन्दा ६ महिना अगावै ०७६ असार मसान्तमा निर्माण कार्य सम्पन्न गरेपछि निर्माण कम्पनी पुरस्कृत एवम् सम्मानित भएका हुन् ।

साविकको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय हाल सघन सहरी भवन निर्माण आयोजना धनकुटाका इञ्जिनियर नवीनकिशोर श्रेष्ठले कुल लागत २ करोड ९ लाख ३४ हजार १ सय ८३ रुपैयाँमा बनेको स्वास्थ्य चौकी भवन तोकिएको अवधिभन्दा ६ महिना अगावै सकिएकोले पुरस्कृत गरिएको बताए । उनले ऐनले तोकिए बमोजिम सम्झौता गरिएको कुल लागतको ०.५ प्रतिशतले हुन आउने रकम प्रोत्साहनस्वरूप बोनस १३ लाख ८६ हजार प्रदान गरिएको बताए ।

निर्माण व्यवसायी थुलुङले आँखीसल्लामा रहेको ठाकुरदेवी माविमा अध्ययन गर्ने विपन्न समुदायका बालबालिकाहरूको पठन–पाठनमा सहयोग पु¥याउने उद्धेश्यले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरे ।