सिरहा/ तराईमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व बुधबारबाट सुरु भएको छ ।

कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक छठ मनाइने गरिएको छ । पहिलो दिन ‘नहाय–खाय’ विधि गरिएको छ । छठ पर्वको तयारी सिरहासहित तराईका जिल्लाहरूमा सुरु गरिएको छ । मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको पहिलो दिन ब्रतालुहरूले ब्रत सङ्कल्प गरेर स्नान गरेर चोखोनितो खाएका छन् । पर्वको दोस्रो दिन पञ्चमी तिथिमा ब्रतालुले दिनभरि निराहार ब्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गर्ने ब्रतालु शिवोदेवी यादवले बताइन् ।

शुक्रबार सन्ध्याकालीन र शनिबार प्रभातकालीन सूर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्व विधिवत्रूपमा समापन हुनेछ । पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन बिहानै नुहाइ धुवाइ गरेर निराहार ब्रत बसेका ब्रतालुले साँझमा अस्ताउँदै गरेका सूर्यलाई अघ्र्य दिने गरिन्छ । त्यस्तै सप्तमीका दिन बिहान उदाउँदै गरेका सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।

छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नुपर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठेकुवा, भुसुवा, मिष्ठान्न परिकार, माटोको भाँडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलपूmल, कोसिया कुरवारलगायतका पूजा सामग्रीहरूले सूर्यलाई अघ्र्य दिने प्रचलन रहेको छ । निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने विश्वास गरिन्छ ।

सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने पण्डित अरुण झाले बताए । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिष सम्बन्धी तथ्यहरू पनि पाइन्छ । मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनिसकेको यो पर्वको तयारीमा अहिले यस क्षेत्रका नदी, तलाउ र कुण्ड सहितका जलाशयहरू मनमोहक ढङ्गले सिँगार्ने क्रम चलिरहेको छ । जलाशय सजाउनुको साथै घर–घरमा पर्वको तयारी चलिरहेको छ । छठ पर्वको सुरुवातसंगै टोल–टोलमा छठका गीतहरू गुञ्जिरहेकोले मिथिला क्षेत्र छठमय बनेको छ ।