भद्रपुर / झापाको मेचीनगर नगरकार्यपालिकाको कार्यालयमा शनिबार सम्पन्न सर्वपक्षिय बैठकले २८ कात्तिकमा नगरपालिकाले गरेको सार्वजनिक सूचनालाई स्थानीय प्रशासन, विभिन्न राजनैतिक दल स्थानीय सङ्घ संस्था र नागरिक समाजको सहकार्यमा प्रभावकारीरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
नगरका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा संविधान सभा सदस्य रविन कोइरालासहितको बैठकले उक्त निर्णय गरेको हो । नगरपालिकाले कोभिड १९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गदैं शुभ दिपावलीका अवसरमा देउसी भैलो नाचगानलगायतका भीडभाड हुने कुनै पनि कार्य नगर्न नगराउन , नेपाल संवत ११४१ का अवसर पारेर भीडभाड हुने कुनै पनि कार्य नगर्न नगराउनलगायतका ५ बुँदे सार्वजनिक सूचना जारी गरेको छ ।
साथै कोभिड १९ को संक्रमण दरलाई मध्यनजर गदैं छड पर्व घर आगनमा नै कुण्ड बनाएर पूजा गरी मनाउन, नदी खोला र तलाउ पोखरी र जलाशयमा अस्थायी पण्डाल बनाएर यस वर्षको पूजा स्नान नगर्न समेत नगरवासीलाई सार्वजनिक सुचना मार्फत जानकारी गराएको नगरपालिका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए । बैठकले यी लगायत सवै सूचनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
१ नम्बर प्रदेश सभासदस्यद्वय गोपालचन्द्र बुडाथोकी र श्रीप्रसाद मैनालीसहितको उपस्थितीमा भएको बैठकले कोभिड१९ सङ्क्रमण नियन्त्रणका लागि नगरकार्यपालिकाको कार्यालयकातर्फबाट चिकित्सकसहितको आवश्यक जनशक्ति व्यवस्थापन, अक्सिजन, औषधि, अति विपन्न परिवारलाई पौष्टिक आहर सहितको १४ दिनका लागि प्याकेज वितरण गर्ने, साथै स्वास्थ्यकर्मीहरुको मोवायल टोली, रेपिड रेसपोन्स टिम निर्माण गरी आपतकालिन उद्घार गर्ने निर्णय समेत गरेको छ ।