धरान । झापा दमकस्थित दकम अस्पतालको औषधि भण्डारण गरिएको कोठामा शनिबार अपरान्हक अचानक आगलागी भएको छ ।

आगलागीबाट करिब एक करोड बराबरको औषधिलगायतका सामग्री जलेर नष्ट भएको अनुमान गरिएको छ । विद्युत् सर्ट भई आगलागी भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनका अनुसार करिब १ करोड बराबरको औषधिलगायतका सामग्री जलेर नष्ट भएको छ ।

आगलागी भएको थाहा पाउनेबित्तिकै दमक नगरपालिकाका दुई वटा दमकलको सहयोगमा आधा घण्टाभित्र आगो नियन्त्रणमा लिएकाले थप क्षति नभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

स्टोरको एसीबाट आगलागी सुरु भएको कर्मचारीले जनाएका छन् । आगलागीबाट औषधि, कपडा र अस्पतालका अन्य उपकरणहरू जलेर नष्ट भएको छ ।

थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

झापाको बाह्रदशी गाउँपालिका–६ मा धान थ्रेसर गर्ने क्रममा एक महिलाको ज्यान गएको छ । धानको बाला टिप्ने क्रममा फितामा सारी बेरिँदा ४८ वर्षीया लीला चापागाईंको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

महिलाको कपडा र कपाल थ्रेसरले तानेको थियो । स्थानीय भूपाल प्रसाईंको मे १ त ६६०१ नम्बरको ट्याक्टरमा थ्रेसर गरिरहेको बेला भूँइमा झरेको धानको बाला टिप्प खोज्दा फितामा बेरिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।