भद्रपुर । संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा एक खर्ब गुमाएको बताएका छन् । गृहजिल्ला ताप्लेजुङ्गबाट शुक्रबार बिहान सिता एयरमार्फत चन्द्रगढी विमानस्थल आएका मन्त्री भट्टराईले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् ।

गएको चैत्रमहिनाबाट नेपालमा बन्दाबन्दी भईसकेपछि मासिक करिब १० अर्बजति पर्यटन क्षेत्रमा घाटा भएको तथ्याङ रहेको उनले जनाए । हालसम्म एक खर्ब रकम पर्यटन क्षेत्रमा नोक्सान भईसकेको उनको भनाई छ ।

कोरोना भाईरस बढीरहेको अवस्था भएपनि सुरक्षा मापदण्ड अपनाएर असोज महिनायताबाट आन्तरिक हवाई यातायात सञ्चालनमा ल्याएको जनाए । यही अवस्थामा वाह्य पर्यटनको सम्भावना नभएकोले आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न जरुरी रहेको धारणा राखेका थिए ।

अन्तराष्ट्रिय उडान सुचारु भएपनि विश्वभर हाल ४६ प्रतिशत उडान रहेको उनले जनाए । विगतमा आउने र जाने एकसय १० देखि २० सम्म थिए भने त्यो सङ्ख्या अहिले ३२ रहेको उनले बताए । यो क्रम विस्तारै बढदै जाने उनको भनाई थियो ।

कोरोना भाईरस बढीरहेपनि जनजीवनलाई सामान्यकरण गर्दै जानु पर्ने आवश्यक्ता रहेको उनको भनाई छ । पर्यटन क्षेत्रलाई माथि उठाउन हिमाल आरोहण, पद यात्रा होटल खोलिसकिएको उनले बताए ।

कर्मचारी श्रमीकहरुलाई टिकाउनका लागि ५० अर्बको पुर्नर उत्थान कोष सरकारले खडा गरेको उनले सुनाए । व्यवसायीले व्यवसाय सुचारु गर्नका निम्त ५ प्रतिशत ब्याज दरमा रकम लिन सक्ने कार्यविधि मन्त्री परिषदबाट जारी हुने तयारीमा रहेको उनको भनाई छ ।

कार्यविधि पारित भईसकेपछि रकम उपयोग गर्न सकिने उनले बताए । विदेशी नागरिकलाई पर्यटन भिषा खुला गरिने सोच बनाएकोले पुरानै लयमा फर्किन समय लागेपनि विस्तारै पर्यटन क्षेत्रले गति लिने उनको धारणा थियो ।

यता चन्द्रगढी विमानस्थलको विषयमा स्थानीय, सरोकारबाला,जनप्रतिनिधि राखेर गत वर्ष मास्टर प्लान प्रस्तुत भईसकेको उनको भनाई छ । केही सुझावहरु आएकोले अब टुङ्गोमा पुर्याउने र विस्तार गर्ने नीति रहेको उनले जनाए ।

विमानस्थलमाबाट बाहिरीएका मन्त्री भट्टराई नेपालको होचो भू–भाग झापाको कचनकवल र एतिहासिक धार्मिक पर्यटन स्थल किचकबधको स्थलगत भ्रमण गरी शुक्रबार काठमाडौ फर्किने कार्यक्रम रहेको छ ।