ब्लाष्टखबर । बैतडी जिल्लाकाे पाटन नगरपालिका–८ खोड्पे नजिकै बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ , भने ३४ जना घाइते भएका छन् ।
दार्चुलाको गन्नाबाट कञ्चनपुरको महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति करिब साढे १० बजेतिर खोड्पे बजार नजिक भीरबाट खसेर दुर्घटना भएकाे थियाे ।
दुर्घटनामा परि ८ जनाको घटनास्थलमै मृत्यु भएकाे छ भने १ जनाकाे भने डडेल्धुरा अस्पतालमा उपचारका क्रमा मृत्यु भएकाे हाे । मृत्यु हुनेमा १ जना प्रहरी जवान रणबहादुर चन्द रहेका छन् ।
अन्य ३ जना, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
दुर्घटनामा घाइतेहरूकाे डडेलधुरा अस्पतालमा उपचार छ । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर अधिकारीले बताएका छन् ।
दुर्घटनामा बस सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले बताएकाे छ ।