इनरुवा/ सुनसरीको गढी गाउँपालिकामा प्लाज्मा सङ्कलन थालिएको छ । गाउँपालिकाको कार्यालयले सङ्क्रमण पुष्टि भई निको भएकामध्ये प्लाज्मा सङ्कलनका लागि योग्य ठहरिएका व्यक्तिहरूबाट रगत सङ्कलन गरेको हो ।

रिपोर्ट नेगेटिभ आएको १५ देखि ६० दिनको अवधिभित्रका कोरोना निको भएका व्यक्तिबाट प्लाज्मा सङ्कलन थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार तोकिएको समयभित्र रही कोरोना निको भएका व्यक्तिबाट रगत सङ्लकन गरिन्छ र प्रयोगशालाबाट प्लाज्मा छुट्याई सिकिस्त कोरोना सङ्क्रमितको उपचारमा प्रयोगमा ल्याइन्छ । कोरोनाको बढ्दो सङ्क्रमणसँगै समुदायमा सङ्क्रमित सङ्ख्या थपिँदै जाँदा सिकिस्त बिरामीको उपचारमा सहजता दिलाउन प्लाज्मा सङ्कलन थालिएको गाउँपालिका कार्यालयको भनाइ छ ।

समाजमा सङ्क्रमितलाई हेर्ने दृष्टिकोण बदल्नसमेत प्लाज्मा सङ्कलन कार्य महŒवपूर्ण रहने कार्यालयको ठहर छ । महामारीको समयमा प्लाज्मा दानको कार्यले आपसमा आत्मीयता बढाउनुका साथै सङ्क्रमितको हकमा जीवनदान दिलाउनेसम्मको काम गर्ने भएकाले अभियान थालिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले बताए ।

लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले गढी गाउँपालिकाको औरावनीस्थित सामुदायिक भवनमा प्लाज्मा सङ्कलनसँगै रक्तदान कार्यक्रम समेतको आयोजना गरिएको थियो । सो कार्यक्रममा ७ जना सङ्क्रमणमुक्त भएका व्यक्तिले प्लाज्माको लागि रगत दिएका थिए भने अन्य २६ जना सर्वसाधारणले रक्तदान गरेको कार्यक्रम संयोजक लायन प्रमोद कुमार चौधरीले जानकारी दिए ।

गाउँपालिकाका प्रशासकीय अधिकृतसमेत रहेका चौधरीले कोरोनाको समयमा रगत दिनेको सङ्ख्यामा कमी देखिएकाले रक्तदान कार्यक्रम समेतको आयोजना गरिएको बताए । उनले कोरोनाका सिकिस्त बिरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले प्लाज्मा सङ्कलन थालिएको बताए । सङ्क्रमणमुक्त भएकाहरूको आत्मसम्मान बढाउनुका साथै सामाजिक दृष्टिकोण परिवर्तन गर्न र संक्रमितको उपचारमा सहयोग पुर्याउन प्लाज्मा सङ्कलनको कार्यलाई तीव्रता दिइने कार्यक्रम संयोजक चौधरीले बताए । गाउँपालिकाको सहयोगमा लायन्स क्लबले नेपाल रेडक्रस सोसाइटी सुनसरीसँगको समन्वयमा कार्यक्रम आयोजना गरेको थियो ।