भद्रपुर/ नेपाल रेडक्रस सोसाइटी झापा शाखाका पूर्व सभापति एवम पूर्व केन्द्रीय सदस्य रेवतीरमण नेपालको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।
सोमबार राति पौने १२ बजे नोवेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको हो । मेची प्रादेशिक अस्पताल भद्रपुरमा १० दिन अघि पोजेटिभ देखिएपछि सोही दिन मध्यराति थप उपचारका लागि विराटनगर लगिएको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।
चिकित्सकले उनको फोक्सोमा सङ्क्रमण देखिएकोले समस्या जटिल भएको जनाएको ढकालले बताए। मृत्युपश्चात् नेपाल सरकारले तोकेको मापदण्ड अनुसार अन्तिम संस्कार हुने भएपनि परिवारले अनुरोध गरेपछि प्रमुख जिल्ला अधिकारी र सेनाका गणपतिसंग छलफल गरेर भद्रपुर ७ स्थिीत देउनिया विस्रान्ति घाटसम्म ल्याउने प्रयास गरिने उनले जानकारी दिए ।
हल्दीबारी ४ निवासी नेपाल रेडक्रस झापाको ७ वर्ष सभापतिको सफल कार्यकाल सम्पन्न गरिसकेका थिए भने हाल नेपाल बंसज परिषदका केन्द्रीय उपाध्यक्ष, नेपाल बंस कुल पूजा प्रतिष्ठान चन्द्रगढीका सचिव,नेपाली काङ्ग्रेस झापा जिल्ला सदस्य लगायत दर्जनभन्दा बढी संङ्घ संस्थामा नेपाल आबद्ध थिए ।