बिर्तामोड । झापाको वीएण्डसी अस्पतालले मुटुरोगको उपचार गर्नका लागि अत्याधुनिक ‘क्याथल्याब’ सेवा सञ्चालनमा ल्याएको छ ।

क्याथल्याब सेवा सञ्चालनमा ल्याएपछि मुटु रोगको उपचारमा नयाँ आयाम शुरु भएको अस्पतालले जनाएको छ ।
दुईबर्षभित्रमा मुटुको प्रत्यारोपण शुरु गर्ने तयारीमा रहेको अस्पतालले क्याथल्याब सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाएको छ । क्याथल्याब सेवाले मुटुको नशा बन्द भए नभएको थाहा पाउन ‘एन्जीओग्राफी’ का साथै हृदयाघात भएका बिरामीको बन्द नसा खुलाउन ‘एन्जीओप्लास्टी’, मुटुको बन्द भएको भल्ब खोल्न ‘भल्भलोप्लास्टी’ र धड्कनसम्बन्धी पेशमेकर सेवा उपलब्ध हुने अस्पतालका मुटुरोगका बरिष्ट बिषेशज्ञ उमेश यादवले बताए ।

अस्पतालले मुटुरोगको उपचारका लागि भारतको चेन्नईमा रहेको ‘फोर्टिज हस्पिटल’ बाट डाक्टर अबनकुमारको नेतृत्वमा ५ जना चिकित्सको टीम ल्याएको जनाएको छ । क्याथल्याब सञ्चालन कार्यक्रममा बोल्दै डाक्टर अबनकुमारले दक्षिण एशियामा आफ्नो टीमले २०११ मा पहिलो पटक मुटुको सफल प्रत्यारोपण गरेको दावी गरे । उनले बिर्तामोडको वीएण्डसी हस्पिटलमा उपलब्ध उपकरण उत्कृष्ट भएको भन्दै यहाँ आगामी दुइबर्षभित्रमा मुटु प्रत्यारोपण गर्न सकिने बताए ।

मुटुरोगको जटिल उपचारका लागि अब अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गरेको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले बताए । उनले वीएण्डसी हस्पिटलले सबै रोगको उपचार प्रदान गर्न सक्ने प्रतिष्ठान निर्माण गर्न आफु केन्द्रित भएको बताए ।