विराटनगर/ विराटनगर–५ का राकेश कर्ण दुई साता होम आइसोलेसनमा बसेपछि कोरोना सङ्क्रमणलाई परास्त गरे । पेशाले सञ्चारकर्मीसमेत रहेका उनी कोरोना सङ्क्रमण भएर होम आइसोलेसनमा बसेको प्रमाणित गरेको सिफारिस लिन विराटनगर महानगरपालिकाको ५ नंं. वडा कार्यालयमा सोमबार गएका थिए ।

उनलाई वडा कार्यालयले सङ्क्रमित भएर होम आइसोलेसनमा बसेको प्रमाणित गरेको ‘निवेदन दस्तुर’ र अन्य सिफारिस शीर्षक गरी ३ सय १० रूपैयाँ कर बापत शुल्क लिएको छ । यस्तै विराटनगर–३ की एक महिला पनि कोरोना सङ्क्रमण जितेपछि होम आइसोलेसनमा बसेको प्रमाणित गरेको सिफारिस लिन १७ कात्तिकमा विराटनगर–३ वडा कार्यालय पुगिन् । उनलाई वडा कार्यालयले ‘निवेदन दस्तुर’ १० रुपैयाँ र अन्य सिफारिस शीर्षकमा ५ सय रुपैयाँ गरी जम्मा ५ सय १० रूपैयाँ कर बापतको शुल्क लिएको छ ।

उल्लेखित घटना प्रतिनिधिमूलक मात्र हुन् । अहिले विराटनगर महानगरपालिकाको वडा कार्यालयलहरूले कोरोना सङ्क्रमण भएर होम आइसोलेसनमा बसेको प्रमाणित गरेको करको नाममा मनपरी शुल्क असुल्ने गरेको पाइएको छ ।

सङ्क्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेकाले बिमा र कार्यालयमा बिदा प्रयोजनका लागि वडा कार्यालयको सिफारिस माग्ने गरेका छन् । पहिले यस्तो शुल्क नलिएको वडा कार्यालयहरूले पछिल्लो पटक केही वडा कार्यालयले शुल्क लिने गरेको पाइएको छ । विराटनगरका २, ४, ७ र ८ नम्बर वडाले शुल्क नलिइकनै बिमाको लागि सिफारिस दिने गरेका छन् ।

अन्य वडाहरूले भने शुल्क लिने गरेको पाइएको छ । विराटनगर–३ का वडाध्यक्ष विनोद बस्नेतले बिमा प्रयोजनका लागि सिफारिस लिनेहरूको हकमा मात्र करबापतको शुल्क लिने गरेको बताए । ‘बिमाको दाबी गरेर सिफारिस लिन आउनेहरूसँग कानूनी व्यवस्थाअनुसार कर बापतको शुल्क लिने गरिएको छ’ उनले भने, ‘त्यसबाहेक अरूमा शुल्क लिने गरिएको छैन ।’

विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले निवेदन दस्तुर बाहेकको शुल्क नलिन वडा कार्यालयहरूलाई परिपत्र गरेको जानकारी गराए । ‘केही वडाहरूले कोरोना प्रमाणित गरेको शुल्क लिने गरेको पाइयो’ उनले भने, ‘सबै वडाहरूलाई निवेदन दस्तुरबाहेक अन्य कुनै पनि शुल्क नलिन परिपत्र गरिएको छ ।’

केही वडा कार्यालयहरूले होम आइसोलेसनमा बसेको प्रमाणित गर्दा ‘अन्य सिफारिस शीर्षक’ मा ३ सय देखि ५ सय रुपैयाँ र निवेदन दस्तुरका लागि १० रुपैयाँ लिन थालेको हो । यता महानगरले बुधबार नै होम आइसोलेसनमा बसेका सङ्क्रमितको हकमा शुल्क नलिने निर्णय गरेको छ ।