धरान/ कोरोना बिमाको दाबी गरेका सबै बिमालेखको भुक्तानी एक साताभित्र गर्न सरकारले बिमा समितिलाई निर्देशन दिएको छ ।

झण्डै साढे तेह्र हजारभन्दा बढी बिमितले भुक्तानी पाउन सकेका छैनन् । समितिले विभिन्न मितिमा फरक–फरक निर्णय गरेका कारण पनि बिमितले भुक्तानी पाउन कठिनाइ भएको हो । बिमालेख बमोजिमको कोरोना बिमा दाबी गरेका बिमितको भुक्तानी रोकिएको विषयमा अर्थ मन्त्रालयले चासो देखाएपछि अब बिमितले चाँडै भुक्तानी पाउने आशा पलाएको छ ।

कोरोना बिमा गरेका र पीसीआर परीक्षण प्रतिवेदन पोजेटिभ प्रमाणित भएका बिमितले दाबी गरेअनुसार भुक्तानी एक साताभित्र दिन मन्त्रालयले समितिलाई मङ्गलबार निर्देशन दिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा मङ्गलबार अर्थ मन्त्रालयमा बसेको बैठकले कोरोना बीमाको भुक्तानी दिने र सो कार्यको समन्वय तथा अनुगमन गर्न बिमा समितिलाई निर्देशन दिएको छ ।

२०७७ वैशाख ७ गतेबाट कोरोना बिमा गर्न सुरु गरिएको थियो । समितिका अनुसार हालसम्म १७ लाख ७० हजारले बिमा गरिसकेका छन् । जसमा दाबी गर्नेहरू १३ हजार तीन सय जना छन् । हालसम्म १ हजार ४ सय ४१ बिमितको दाबी मात्रै भुक्तानी भएको छ ।