इटहरी/ जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारको ८ बजेभित्र होटल, रेष्टुराँ बन्द गर्ने निर्णयलाई इटहरीका होटल व्यवसायीले ‘व्यवसाय डुबाउने खेल’ को रूपमा लिएका छन् ।

कोरोना महामारीका कारण करिब ६ महिनासम्म बन्द रहेको होटल व्यवसाय ब्युँतिन नपाउँदै प्रशासनले ‘अङ्कुश’ लगाएको होटल व्यवसायीको आरोप छ । होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली भन्छन्, ‘करोडौं लगानी गरेर खोलेका होटल, रेष्टुरेण्ट प्रशासनकै कारण धरासायी बन्दै छ ।’ ८ बजेभित्र बन्द गरिसक्नु पर्ने निर्णय होटल व्यवसायीको हितविपरीत भएको उनी बताउँछन् । प्रशासनकोे ८ बजेभित्र बन्द गर्न निर्देशनपछि प्रहरीहरू त्यो समयमा होटलका ढोका ढक्ढक्याउन आइपुग्ने गरेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘यो तरिकाले कसरी व्यापार चलाउन सकिन्छ, यो सरासर व्यवसाय डुबाउने खेल हो ।’ इटहरीका होटलमा यौन क्रियाकलाप हुने गरेको भन्दै प्रशासन र मातहतका प्रहरीले अङ्कुश लगाउँदै आइरहेको छ । तर, यसलाई होटल व्यवसायीहरू ‘गलत अफवाह’ का कारण इटहरीका होटल व्यवसाय सङ्कटमा परेको बताउँछन् ।

प्रहरीको गतिविधिलाई उनीहरूले ज्यादतीको संज्ञा दिए । ‘होटल चल्ने समयमा ८ बजे नै बन्द गर्नुको औचित्य के ?’ उनले प्रश्न गरे, ‘८ बजेपछि चाहिँ कोरोना सक्रिय हुने हो र ?’ प्रशासन र स्थानीय सरकारको यो निर्णय तत्काल फिर्ता हुनुपर्ने होटल व्यवसायीको माग छ । होटल व्यवसायी सङ्घ इटहरीले व्यवसाय धरासायी भएको भन्दै स्थानीय सरकार र प्रहरी प्रशासनलाई ज्ञापन–पत्र बुझाएको छ ।

इलाका प्रहरी कार्यालय र इटहरी उपमहानगरलाई ज्ञापन–पत्र बुझाउँदै व्यवसायीलाई धरासायी बनाउने काम तत्काल बन्द गर्न माग गरिएको छ । प्रशासनको निर्णयका कारण ग्राहकहरू नआउने गरेको पश्चिमलाइनमा होटल सञ्चालन गर्दै आएका नेत्र गिरी बताउँछन् । उनका अनुसार कोरोनाले सबैभन्दा बढी पीडित होटल व्यवसायी भएका छन् ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले प्रशासनले होटल व्यवसायीको पिरमर्का बुझिदिए होटल व्यवसायीलाई धेरै राहत मिल्ने बताए । कोरोना कहरपछि व्यवसायीहरूलाई बैङ्कको किस्ता र सरकारलाई बुझाउने कर साथै घरभाडा तिर्न हम्मे परिरहेको छ । इटहरीमा १७ सयभन्दा बढी साना–ठूला होटलहरू छन् ।