धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेडियोलोजी विभागमा कार्यरत रेडियोग्राफर पंकजकुमार यादवको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका प्रतिष्ठानका प्राविधिक कर्मचारीहरुले मङ्गलबार सात बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
कार्यक्षेत्रमा पर्याप्त साधन स्रोतको व्यवस्था नहुँदा जोखिम बढेको भन्दै प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई बुझाएको ज्ञापनपत्रमा रेडियोग्राफर यादवको उपचारमा ढिलाई भई मृत्युको कारण छानबिन गर्न माग गरिएको छ । त्यस्तै आश्रित परिवारको रोजगारको तत्काल सुनिश्चितता गर्न, सरकारबाट हुने बिमा सुविधा तुरुन्त उपल ब्ध गराउन, कर्मचारीका लागि छुट्टै आइसियुको व्यवस्था गर्न माग गरिएको छ ।
त्यसैगरी कार्यक्षेत्रमा खटिने कर्मचारीलाई आवश्यक सामग्री उपलब्ध गराउन, कोभिड अस्पतालका लागि अलग्गै ल्याब, ओटी र एक्सरे प्राविधिक कर्मचारीको विज्ञापन गर्न र कोभिड संक्रमणका कारण मृत्यु भएका पंकज यादव र चन्द्रकला श्रेष्ठलाई कोरोना योद्धा घोषणा गर्न माग गरिएको छ ।
मङ्गलबार प्राविधिक कर्मचारीहरु रेडियोलोजी विभागको सम्पुर्ण सेवाहरु ठप्प पार्दै आन्दोलनमा उत्रिएका थिए । इर्मजेन्सीमा भर्ना भएका रेडियोग्राफर यादव सिकिस्त हुदा पनि आइसियु नपाएको, एक दिनको अन्तरमा दुई खालको पिसिआर रिपोर्ट दिएको साथै विरामीसँग प्रत्यक्ष सम्पर्कमा आउने रेडियोलोजीका कर्मचारीहरुलाई मास्क, ग्लोब्स, पिपिईलगायत सुरक्षा सामग्रीहरु नदिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका थिए ।
































