धरान । गायिका तथा समाजसेवी हर्षु राईले धरानका मिर्गौला पीडित पत्रकार एवम् रङ्गकर्मी प्रवीण राईलाई आर्थिक सहयोग गरेकी छन् ।

आफ्नो जन्मदिनको अवसर पारेर मङ्गलबार पत्रकार राईलाई नगद ७ हजार रुपैयाँ नगद सहयोग गरेकी हुन् । उनको उपचारमा थोरै भए पनि मद्दत पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको गायिका राईले बताइन् । उनले धरान–९ पुतलीलाइनस्थित होटल ओलिभमा कार्यक्रम गर्दै पत्रकार राईकी पत्नी मन्दिरा श्रेष्ठ राईलाई नगद हस्तान्तरण गरिन् ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा र गायिका स्वयम्ले नगद हस्तान्तरण गरे । उनले त्यसक्रममा पत्रकारको स्वास्थ्य लाभको कामना पनि गरिन् । त्यसक्रममा केक काट्दै जन्मदिनको खुसियाली साटासाट गरिन् । यसअघि पनि पत्रकार राईलाई उनले नगद ७ हजार रुपैयाँ सहयोग गरेकी थिइन् । पत्रकार राईलाई हाल घरमै राखेर डायलसिस गरिँदै आएको पत्नी मन्दिराले बताइन् ।