धरान/ साँझ परेपछि टुकीको मधुरो उज्यालोमा बस्ने श्रीलङ्का टप्पुका बासिन्दाहरूले यस पटकको दशैं बिजुली बत्तीको उज्यालोमा मनाए । अब नजिकै आइरहेको तिहार झन् झिलिमिली पारेर मनाउने तयारीमा छन् । तीनसाता अघिसम्म छिमेकी पल्लो गाउँमा बलेको बिजुली बत्तीको उज्यालोलाई टाढाबाट हेर्दै आफ्नो घरमा टुकी बालेर चित्त बुझाउँथे होरेज चन्द्रवंशी र उनका छरछिमेकीहरू । अहिले चन्द्रवंशीको उमेर ७५ वर्ष पुग्दा बल्ल टुकी बत्तीलाई बिदाई गर्न पाएका छन् । कोशी टप्पुभित्रको पनि श्रीलङ्का टप्पुमा जन्मेर उमेरले सात दशक पार गरिसकेकाहरूले यसैसाता देखिमात्र बिजुली बत्ती आफ्नो घरमा बलेको देख्न पाएका छन् ।
वराहक्षेत्रमा विद्युतीकरण सुरु भएको चारदशक बितिसकेको छ । तर, श्रीलङ्का टप्पुका करिब ५ हजार बासिन्दाले भने टुकीकै भरमा साँझको स्वागत गर्दै आएका थिए । अरूका लागि सामान्य भए पनि श्रीलङ्का टप्पुका बासिन्दाका लागि आफ्नो गाउँघरमा बिजुली बत्ती बल्नु ठूलै उपलब्धि भएको छ । सप्तकोशी नदीले बनाएको श्रीलङ्का टप्पुको बस्तीमा असोज तेस्रो सातादेखि विद्युतीकरण हुँदा वराहक्षेत्र नगरपालिका–६ र ९ का बासिन्दाले खुशीयालीसमेत मनाएका छन् ।
सुगम जिल्लाको दुर्गमस्थल मानिएको श्रीलङ्का टप्पुमा बिजुली बल्दा गाउँमा खुशीयाली छाएको स्थानीय रामसेवक मेहताले बताए । उनले भने, ‘टुकीको ठाउँमा बिजुली बत्ती आयो । बिजुलीलाई सदुपयोग गरेर गाउँका किसानहरूले आयमूलक क्षेत्रमा लागेर जीविका चलाउन सक्ने भएका छन् ।’
कोशी प्रोजेक्ट सुरु भएपछि वराहक्षेत्रको चतरालगायतका क्षेत्रमा विद्युत् विस्तार गरिएको उद्योग वाणिज्य सङ्घ सुनसरी वराहक्षेत्रका अध्यक्ष रमेशकुमार विष्टले बताए । उनका अनुसार नेपाल सरकारले ०३६ सालमा विद्युत् लाइन प्रसारण गरेको थियो । ०५२ सालमा समेत विद्युत् लाइन प्रसारण भएको वराहक्षेत्रमा त्यसयता विद्युत् सर्वसुलभ भएको थियो । तर, कोशी टप्पुका बासिन्दाले आफ्नो घरमा विद्युतीकरण भएको हेर्न ०७७ साल असोजसम्म पर्खिनु परेको विष्टले बताए ।
श्रीलङ्का टप्पुस्थित गरैया कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका स्थानीय युवा सन्तोषकुमार चन्द्रवंशीले खेती किसान गरेर जीविका चलाउने स्थानीय बासिन्दामा विद्युतीकरणले नयाँ आशा र उत्साह पलाएको बताए । उनले भने, ‘गाउँमा विद्युत्को अभाव थियो । परम्परागत खेती किसानी गर्दै आएका थियौं । अब विद्युत् प्रयोग गर्दै आधुनिक कृषिको योजना सुरु गर्ने तयारीमा छौं । कृषिका लागि अब मोटर जडान गर्न सकिने भयो, पानी तान्न सकिने भयो, सबैभन्दा ठूलो कुरो जस्तो लागेको त मोबाइल चार्ज गर्ने समस्या समाधान भयो ।’ उनका अनुसार श्रीलङ्का टप्पुमा विद्युतीकरणका लागि २ वर्षअघि पोल गाड्न सुरु गरिएको थियो ।
विद्युत् प्रसारणपछि कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने जङ्गली हात्तीलगायतका जनावरले दिने दुःख पनि कम हुने उनले बताए । उनका अनुसार बर्सेनि जङ्गली हात्ती र अन्य जनावरले आतङ्क मच्चाउँदै वार्षिक ५० लाख रुपैयाँभन्दा बढीको धनमाल, बालीनाली क्षति पु¥याउने गरेको थियो । उनले भने, ‘बिजुली बत्ती आएपछि जङ्गली हात्ती र अन्य जनावरबाट दुःख नपाइएला भन्ने आशा पलाएको छ ।’ वराहक्षेत्र–९ का वडासदस्यसमेत रहेका स्थानीय शम्भु चन्द्रवंशीले बिजुली आएपछि गरैया कृषि सहकारी संस्थाले आधुनिक कृषिसँगै चक्लाबन्दीमा खेती गर्ने योजना बनाएको बताए । संस्थामा २ सय ६५ सदस्य छन् । संस्थाका अध्यक्षसमेत रहेका चन्द्रवंशीले भने, ‘हामी संस्थागत रूपमा अघि बढ्छौं, हाम्रो पुख्र्यौली पेशा नै खेती किसानी हो, यसलाई आधुनिकीकरण गर्ने हाम्रो योजना छ, बिजुली बत्ती बलेपछि आशा र उत्साह पलाएको छ ।’
श्रीलङ्का टप्पुमा नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत करिब अढाई करोड रुपैयाँको लगानीमा विद्युत् विस्तार भएको नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख मिथिलेसकुमार गइवारले जानकारी दिए । उनले भने, ‘अनगोइङ प्रोजेक्ट हो, थप टेण्डर भएको छ । ५ वटा ट्रान्सफर्मर जडान गरेका छौं । छुटफुट लाइन भने विस्तार गर्नेछौं । कोरोना सङ्क्रमणका बेला औपचारिक कार्यक्रम गरिएन, हाललाई विद्युत् छाडेका छौं ।’ विद्युत् प्राधिकरणले हालसम्म विद्युत् विस्तार परियोजनामा ३ पटकसम्म ठेक्का लगाइसकेको छ । पहिलो ठेक्कामा ३ सय ६८ वटा पोल गाडिएकोे थियो भने दोस्रो चरणमा १ सय ६० वटा पोल लगाइएको थियो । स्थानीयले जनश्रमदानमा १ सय २८ वटा पोल गाडेका छन् । १ सय ५० वटा पोल विस्तारका लागि नयाँ टेण्डर खुलाइएको छ । थप एउटा ट्रान्सफर्मर विस्तार गर्न सकिने चक्रघट्टी वितरण केन्द्रका खुदराज घिमिरेले बताए ।
वराहक्षेत्र नगर प्रमुख निलम खनालले विद्युत् विस्तारपछि श्रीलङ्का टप्पुमा धान, मकै, गहुँ पिस्ने मिलहरू जडान हुने, साना साना उद्योगधन्दाहरू चल्नेछन् । आधुनिक कृषि उत्पादन, जडिबुटी र चक्लाबन्दी खेतीका लागि स्थानीयलाई विद्युत् विस्तारले सहयोग पुग्ने र सोही अनुसार कृषकलाई प्रोत्साहन गरिने बताए । उनले भने, ‘ढिलै भए पनि श्रीलङ्का टप्पुमा विद्युत् विस्तार भएकाले केही न केही त परिवर्तन अवश्य हुने नै छ । स्कुल जाने बालबालिकाहरूले टुकीको मधुरो उज्यालोको सट्टा चहकिलो बिजुलीको उज्यालोमा राति पनि पढ्न पाउने भएका छन् ।