धरान । धरान–४ देवीथानमा रहेको जिपलाइन आज (सोमबार) बाट सञ्चालनमा आएको छ ।

कोरोना महामारीका कारण जिपलाइन बन्द रहेको थियो । वल्र्डवाइड नेपाल ग्रुप प्रालिले करिब ३ करोड रुपैयाँको लगानीमा गत फागुन २४ गतेबाट उद्घाटन गरी सुरु गरेको थियो । भेडेटारदेखि देवीदानसम्म करिब ६५० मिटर लम्बाइ रहेको जिपलाइनमा करिब ४० सेकेण्डसम्म आनन्द लिन सकिने सञ्चालक विवश भण्डारीले जानकारी दिए ।

जिपलाइनको आनन्द लिन चाहनेले क्लासिक, सुपरम्यान र कपल (जोडी) जिपलाइन रहेका छन् । क्लासिक जिपलाइनबापत १२ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ भने सुपरम्यानको आनन्द लिन चाहनेले १५ सय रुपैयाँ र कपलले २ हजार रुपैयाँ शुल्क राखिएको सञ्चालक भण्डारीले जानकारी दिए ।

खेलको आनन्द लिन आउनेहरूका लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा पनि गरिएको छ । ८ वर्ष उमेरभन्दा माथिले मात्रै जिपलाइनको मजा लिन सक्ने जनाइएको छ । चाडपर्वलाई लक्षित गर्दै २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको जनाइएको छ ।