पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । सो नगरमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

पछिल्लो पटक वडा नम्बर १ बीपी चोक निवासी समाजसेवी ज्येष्ठ नागरिक लछुमण गजमेरको ज्यान गएको हो । होम आइसोलेसनमा रहेका गजमेरलाई स्वास्थ्यमा समस्या भएपछि अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । नगरमा यसअघि कोरानाका कारण ३ जनाको निधन भइसकेको थियो ।

यसैगरी, नगरमा समुदायका १० जनाको पीसीआर परीक्षणमा २ महिलासहित ६ जनामा कोरोना देखिएको छ । जसमा वडा नम्बर १ की २ महिला र ३ पुरुष र ४ का १ पुरुष रहेका छन् । यसअघि संक्रमित भएका ६१ जनाको २ सातापछिको परीक्षणमा १७ जनामा पुनः कोरोना देखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरमा कोरोना संक्रमण बढिरहेको र त्यसबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेकाले स्वास्थ्य सतर्कता अपनाउन नगर प्रमुख दिलीपकुमार राईले नगरवासीमा अनुरोध गरेका छन् । यसअघि पनि उनले बारम्बार स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिरहेका थिए ।

सम्पादकीय जानकारीः संक्रमितकाे नाम परिवारकै अनुमतिमा प्रकाशित गरिएकाे जानकारी गराउँदछाैं ।