बेलबारी/कोरोना महामारीका कारण लामो समयको लकडाउनपछि खुलेको सार्वजनिक यातायातका साधन दशैंमा समेत थन्किएका छन् ।

सवारी गुडाउँदा तेलसमेत नउठ्ने समस्या भएपछि यातायात व्यवसायीले सवारी थन्क्याएका हुन् । सरकारले असोज ५ गतेबाट सार्वजनिक यातायात सञ्चालनको अनुमति प्रदान गरेको थियो । चैत ११ यता सार्वजनिक यातायात ठप्प रहेका थिए । झण्डै ६ महिनाभन्दा बढी यातायातका साधन थन्किएपछि बिग्रिन थालेको यातायात व्यवसायी बताउँछन् ।

बेलबारीका यातायात व्यवसायी शंकर गुरुङले सवारी साधन चलाए पनि दैनिक डिजेल हाल्ने पैसा समेत संकलन नभएपछि सवारी थन्क्याइएको बताए । विगत वर्षहरूको दशैंमा यात्रु खचाखच हुने भए पनि यो वर्ष कोरोनाका कारण यात्रुहरू सार्वजनिक यातायातमा चढ्न आनाकानी गरेको उनी बताउँछन् । दशैंको बेला पनि ५० जना यात्रु पाउन मुस्किल भएपछि बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्न समस्या भएको उनले बताए ।

सार्वजनिक यातायात व्यवसायीहरू कारोनाले सबैभन्दा ठूलो मारमा परेको उनले सुनाए । यातायात सडकमा नगुडेपछि कतिपय ग्यारेज त कतिपय खुला स्थानमा राखिएका छन् । जसका कारण पाटपुर्जा फेर्नुपर्ने अवस्था रहेको व्यवसायी बताउँछन् ।

यता ट्राफिक प्रहरीले लकडाउन खुले पनि सार्वजनिक सवारीका साधन गत बर्षको तुलनामा आदा पनि नकुदेको जनाएको छ । एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीका प्रवक्ता डिएसपी सुमन तिम्सिनाका अनुसार सार्वजनिक यातायात केही मात्रामा चले तापनि विगतका वर्षहरूमा झैं यात्रुहरू भिडभाड भएन । डिएसपी तिम्सिनाका अनुसार यातायात मजदुर, यातायात व्यवसायी र ट्राफिक प्रहरीको संयुक्त पहलमा लागू गरिएको टाइम कार्डका कारण दुर्घटनामा केही मात्रामा कमी आएको छ ।