कालाबञ्जार । वराहक्षेत्र–५ को चन्द्र प्रतिभा सांस्कृतिक क्लबको आयोजनामा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ ।

वडा कार्यालय अगाडि सम्पन्न रक्तदानमा २ महिला र ३९ पुरुषले रक्तदान गरेका थिए । हरेक वर्ष क्लबले रक्तदान कार्यक्रम गर्दै आएको छ । यो चौथो पटक हो । क्लबका अध्यक्ष अधिकलाल चौधरीका अनुसार स्वेच्छाले रक्तदान गर्नेहरू कम रहेको बताए । उनका अनुसार रक्तदानमा १८ देखि ४८ वर्ष उमेर समूहका व्यक्तिहरूले रगत दान गरेका थिए ।

वराहक्षेत्र नगरका प्रमुख निलम खनालले रक्तदान गर्ने व्यक्तिभन्दा रक्तदान नगर्ने व्यक्ति शारीरिक रूपमा कम स्वस्थ्य हुने गरेको विभिन्न शोधबाट खुलेको बताए । उनले रक्तदान गर्नका लागि सबैलाई आग्रह गरे ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो । कार्यक्रममा रक्तदाताहरूलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।