पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरमा कोरोना संक्रमणको गति तीव्र बनेपछि नगरपालिका कार्यालयले चाडपर्वका बेला पाहुना जाने र पाहुना आउने नगरी आ–आफ्नो घरमै रहेर सुरक्षित तरबले पर्व मनाउन नगरवासीमा अनुरोध गरेको छ ।

नगरमा कोरोना संक्रमण दिनदिनै बढेपछि नगर प्रमुख दिलीपकुमार राईले दशैंतिहार, छैट लगायतका चाडपर्वका बेला झनै बढी स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध गरेका छन् । कोरोनाको बढ्दो संक्रमणका कारण भीडभाड नगरी पाहुना जाने र पाहुना आउने कुरालाई रोकेर मात्र आआफ्नो घर घरमै बसेर चाडपर्व मनाउनु पर्ने वाध्यता रहेकाले त्यसै गर्न नगरवासीलाई सुझाएका छन् ।

अत्यन्तै स्वास्थ्य सावधानी अपनाएर आफुपनि बच्न र अरुलाई पनि बचाउन उनको आग्रह छ । दशैंको विदाको समयमा कोरोना जाँचको अवस्था समेत असहज हुने हुँदा भौतिक दूरी कायम गर्दै अनिवार्य रुपमा मास्क लगाउने, साबुनपानीले हात धुने र सेनिटाइजर लगाएर स्वास्थ्य सतर्कता अपनाउन थप आग्रह गरेका छन् ।

पछिल्लो पटक थप ७ मा कोरोना 

नगरमा पछिल्लो पटक शुक्रबारको रिपोर्टमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । क्वारेन्टिनका १२ र कन्ट्रयाक ट्रेसिङमा परेका समुदायका १२ गरी २४ जनाको स्वाबको नमूना परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए । प्रदेश प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा समुदायका ५ र क्वारेन्टिनका २ जनामा कोरोना देखिएको हो ।

जसमा वडा नम्बर १ का २ पुरुष, ९ का ३ पुरुष र उर्लावारी ठेगाना भएका १ महिला र १ पुरुषमा कोरोना देखिएको रिपोर्टमा उल्लेख छ । त्यसमा पनि यसअघि संक्रमित देखिएका ६ जनाले पुन स्वाब दिएकामध्ये १ जनामा पुन संक्रमण नै देखिएको छ ।

त्यसअघि नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहित नगरका जनप्रतिनिधि, नगर कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार सहित पछिल्लो पटक ३८ जनामा कोरोना भाइरस देखिएको थियो । जसमा १ सय १५ जनाको स्वाबको नमूनामध्ये ३८ जनामा पोजेटिभ देखिएको थियो । सोही बेला पठाएको स्वाबको प्रदेश प्रयोगशालामा गरिएको ५० जनाको परीक्षणमा जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी सहित ९ जनामा पोजेटिभ देखिएको रिपोर्ट यसअघि नै आएको थियो ।

जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी सहितमा कोरोना देखिएपछि असोज ३० देखि नगरपालिका, वडा कार्यालय तथा नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र १ नम्वर वडाको आधारभूत स्वास्थ्य केन्द्रको सेवा समेत बन्दकै अवस्थामा रहँदा दशैं विदा सुरु भएको छ ।

नगरले स्वाब संकलन गरी गरिएको परीक्षणमा १ सय बढीमा कोरोना देखिएको छ भनें व्यक्तिगत हिसाबले नीजि अस्पतालमा गएर परीक्षण गर्नेहरुमा पनि २ दर्जनको संख्यामा कोरोना पुष्टि भएको छ ।

कोरोनाकै कारण वडा नम्वर १ का अस्पताल सञ्चालक रामकाजी थापाको निधन भएको छ ।

पथरी बहुमुखी क्याम्पसका प्रमुख चेतन पौडेल, पथरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पर्शुराम कार्की, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, लायन्स क्लब अफ पथरीका अध्यक्ष रोशन बुढाथोकी, राष्ट्यि युवा संघका केन्द्रीय सदस्य विजय डाँगी, इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीपकुमार गिरी सहितलाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै, पथरी नगर अस्पतालका दुवैजना डाक्टर सहितका स्वास्थ्यकर्मी, नगरको दुवै एक्बुलेन्सका चालक, नगर प्रहरी समेत संक्रमित हुन पुगेका छन् ।