विजयपुर/ धरान उपमहानगरपालिकाले धरान–१७ स्थित एन्फा क्वारेण्टिनलाई न्यूनतम् मापदण्ड पूरा गरेर आइसोलेसन बनाउने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको बुधबार सम्पन्न कार्यपालिका बैठकले धरानमा बढ्दो कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै आइसोलेसन बनाउने निर्णय गरेको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेसनको सेवा प्रभावकारी नभएको र विभिन्न विवाद उत्पन्न भइरहेको बेला उपमहानगरले आफ्नै आइसोलेसन निर्माण गरेर सङ्क्रमितको उपचार गर्ने तयारी गरेको हो ।

करिब २ महिनापछि बसेको कार्यपालिका बैठकले लामो समयदेखि विवादमा रहेको खानेपानी संस्थानको स्वामित्व बोर्डमा हस्तान्तरण गर्ने निर्णयसमेत गरेको धरान उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए । उनले संस्थानलाई कात्तिक २६ गते औपचारिक रूपमा बोर्डमा हस्तान्तरण गरी ‘मर्ज’ गर्ने निर्णय भएको बताए । तर, यसअघि पनि पटक–पटक बोर्डमा हस्तान्तरण गर्ने निर्णय गरिए पनि कार्यान्वयन भने भएको छैन ।

गत नगरसभा र कार्यपालिका बैठकले पनि संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णय गरेको थियो । खानेपानी आयोजना अनुगमन समितिका संयोेजक तथा नेपाली काङ्ग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले अपूर्ण र असफल आयोजना नेपाल सरकारको निर्णय भन्दै हस्तान्तरणमा हतार गरिएकाले चलखेल भएको आशङ्का गरे । उनले आयोजनाको डीपीआर अनुसारको काम नै नसकी बोर्डमा मर्ज गर्नु धरान र धराने जनताको लागि राम्रो नभएको बताए । आयोजनाको परीक्षण समय नै नसकिएको अवस्थामा २ वटा डिप वेल नयाँ राखी धराने जनतालाई आर्थिक भार पारिएको उनको दाबी छ ।

त्यसैगरी बैठकले चालु आर्थिक वर्ष (२०७७/७८) को धरान उपमहानगरको नीति तथा कार्यक्रम (बजेट) पनि स्वीकृृत गर्ने निर्णय गरेको छ । बजेट जेठमा प्रस्तुत भए पनि करिब ४ महिनापछि मात्र स्वीकृत भएको हो । बैठकले चालु आर्थिक वर्षको दररेट पनि निर्धारण गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दा पनि दररेट निर्धारण नहुँदा विकास, निर्माणको कार्य अगाडि बढ्न सकिरहेको थिएन । ढुङ्गा, गिट्टी, बालुवा, रड, सिमेण्टलगायतको दररेट निर्धारण नहुँदा योजनाको लागत स्टिमेट हुन सकिरहेको थिएन । बैठकले दररेट पनि कायम गरेको र अब योजनाहरू अघि बढाउन सहज भएको धरान–१७ का वडाअध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

भेडेटारस्थित शैलुङ डाँडामा निर्माण हुन लागेको स्काई वाक परियोजनालाई अनुमोदन गर्दै बैठकले जलाधार क्षेत्रलाई प्रभाव नपर्ने गरी जग्गा लिजमा उपलब्ध गराउने पनि निर्णय गरेको छ । धरान–१३ स्थित बीपी पार्क र धरान–१७ स्थित सप्तरङ्गी पार्कलाई विकास गर्न संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ ।