विराटनगर/ विराटनगर–१० स्थित बिकेएम मसला उद्योगले अधिकतम् मुनाफा राखेर मसला बिक्री वितरण गरेको पाएपछि २३ असोजमा कारबाहीको भागिदार बन्यो । ४ सय ५२ रुपैयाँ प्रतिकेजीमा पाइने बिकेएम मसला १ हजार २ सय रुपैयाँमा बिक्री वितरण गरेको पाइएपछि कारबाहीको दायरमा आयो ।

लागत मूल्यभन्दा पनि तेब्बरमा मसला बिक्री वितरण गरेको अनुगमन टोलीले फेला पारेपछि उक्त मसला उद्योगलाई वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिबाना ग¥यो । सो उद्योगले उत्पादन गर्ने मसला एक केजीमा ५० ग्रामको ३० प्याकेट हुने गरेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा झापा, मोरङ, सुनसरी र धनकुटा गरी चार जिल्लाका ५२ वटा उद्योग र फर्महरू अनुगमन गर्दा १० वटा उद्योग, फर्म पसलहरू कारबाहीको दायरामा आएको छ । साउन, भदौ र असोज गरी तीन महिनामा १० वटा फर्म कारबाहीमा परेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । उनका अनुसार झापा र धनकुटाका ३–३, विराटनगरका ४ वटा फर्म, उद्योग र पसल कारबाहीमा परेको बताए ।

कारबाहीमा पर्नेहरूमा खरिद बिल नदेखाई खाद्यवस्तु बिक्री वितरण गर्ने बढी रहेका छन् । खरिद बिल नदेखाउने ८ वटा पसल कारबाहीमा परेको वाणिज्य कार्यालयले जनाएको छ । कार्यालयले अनुगमनको क्रममा उनीहरूको कसुर अनुसारको कारबाही गरेको छ । खरिद बिल नदेखाउने पसलहरूले मनपरी मूल्य लिएर उपभोक्तालाई खाद्यवस्तु बिक्री वितरण गर्दछन् । यसैगरी पसल दर्ता नगरी स्वास्थ्य सामग्री बिक्री वितरण गरेको पाइएपछि वाणिज्य कार्यालय झापाको दमकस्थित एक जना व्यक्तिलाई ५० हजार जरिबाना गरेको थियो ।

१० वटा उद्योग, फर्म र पसल कारबाहीमा पर्दा ३ लाख ५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ को तीन महिनामा २४ वटा बजार अनुगमन भएको थियो । चालु आर्थिक वर्षको तीन महिनामा २८ वटा बजार अनुगमन बढेको हो । चालु आर्थिक वर्षको तीन महिनामा १ हजार ५ सय ५२ वटा फर्म दर्ता, नवीकरण, संशोधन, खारेजी भएको वाणिज्य कार्यालयको अभिलेखमा उल्लेख छ ।