ताप्लेजुङ/ दशैं लागेसँगै ताप्लेजुङमा बजार अनुगमन सुरु भएको छ । घरेलु कार्यालय र फुङलिङ नगरपालिकाले संयुक्त रुपमा अनुगमन थालेका हुन् । आइतबार फुङलिङ बजारको तोक्मेडाँडादेखि पाथीभराचोकसम्मका ३४ वटा पसलमा अनुगमन गरियो ।

सो क्रममा खाद्यान्न, औषधी, तरकारी, मासु पसलमा सडेगलेका माछा र म्याद गुज्रेका खाद्यान्न फेला परेको थियो । बजारको कोप्चेस्थित सुरेन्द्र माछा पसलमा सबैभन्दा धेरै ५० किलो सडेको माछा फेला परेको र त्यसलाई खाडल खनेर गाडिएको घरेलु कार्यालयका प्रमुख देउप्रकाश तामाङले बताए । तामाङ र नगरपालिकाका आन्तरिक लेखा परीक्षण अधिकृत भूपाल सेन्दाङ नेतृत्वको टोलीले छुट्टाछुट्टै अनुगमन गरेको हो ।

माछासहित खाने तेल, फ्रुटी, जुस, फेन्टा स्नेकर चकलेट म्याद सकिएको फेला परेका थिए । अधिकांश पसलले दर्ता नविकरण नगरेको समेत पाइएको नगरपालिकाका सहलेखापाल भोला सिग्देलले बताए । वस्तु वा सेवा प्रदायक व्यवसायको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, नापतौल लगायत व्यापारिक क्रियाकलापको नियमित एवं आकस्मिक अनुगमनको कार्य अनुगमन टोलीले गर्छ ।

चाडपर्व नजिकिएसँगै उपभोक्ताहरु बढी ठगिने सम्भावना रहने हुँदा अनुगमन तिव्र पारिएको हो । अब बजार अनुमगनलाई तिव्र बनाइने घरेलु प्रमुख तामाङको भनाई छ । स्थानीय भने बजार अनुगमन चाडपर्वको बेला मात्र नभई निरन्तर गर्नुपर्ने बताउँछन् । मुख्य बजारका मात्र नभई भित्री बजारका र दर्ता नभई चलेका पसलको समेत अनुगमन गर्नुपर्ने स्थानीय पूर्ण लिम्बुले बताए ।

bajar anugaman